खाेज्नुहाेस

भोटेकोशी बाढी पछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

Image

धनगढी – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका ८५ जना सम्पर्कविहीन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी पनि रहेका छन् ।

navjiwan hospital

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार सम्पर्कविहीन हुने चार जना सुरक्षाकर्मी छन् । उनीहरूमध्ये तीन जना नेपाल प्रहरी र एक जना सशस्त्र प्रहरीका छन् ।

attariya hospital

जिल्लागत रूपमा सबैभन्दा धेरै कञ्चनपुरका २९ जना सम्पर्कविहीन भएका छन् । यस्तै कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, डोटीका २ र अछामका १ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुने अधिकांश रसुवामा सञ्चालित विभिन्न जलविद्युत आयोजनामा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । केही सरकारी कर्मचारी तथा विभिन्न सङ्घसंस्थामा कार्यरत व्यक्तिहरू पनि सम्पर्कविहीन भएका छन् ।

एसएसपी विष्टका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ । जिल्लाबाट थप विवरण सङ्कलन भइरहेको भन्दै उनले सम्पर्कविहीनको सङ्ख्या बढ्न सक्ने बताए ।
प्रदेश प्रहरीले रसुवामा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे जानकारी सङ्कलन गर्दै परिवारसँग समन्वय गरिरहेको जनाएको छ । बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ ।