धनगढी – बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरमा लाग्ने पूजाका लागि गएको कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीलाई बाजुरामा स्वागत गरिएको छ । शनिबार सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले औपचारिक कार्यक्रम गर्दै स्वागत गरेको हो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बडीमालिकासहित सुदूरपश्चिम प्रदेशमा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै संरक्षण र सम्वद्र्धनमा एकजुट भएर लाग्न आव्हान गरेका छन् ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले सरकारी टोलीलाई स्वागत गर्दै धनगढी उपमहानगरपालिकाले सुरु गरेको “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं” अभियानले आर्थिक, सामाजिक, सांस्कृतिक एवम् भौगोलिक पहिचान झल्काउँदै सिङ्गो प्रदेशकै विकासममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
धनगढी उपमहानगरले गत वर्षदेखि सुरु गरेको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक परम्परासँग जोडिएको बडीमालिका तीर्थयात्रालाई निरन्तरता दिँदै यस वर्ष पनि सरकारी टोली पठाएको छ । उक्त टोली शनिबार सदरमुकामबाट बडीमालिका प्रस्थान गरेको छ ।


















