खाेज्नुहाेस

गोदावरीका छाडा चौपायाको समस्याका विषयमा आज छलफल हुँदै 

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा विकराल बन्दै गएको छाडा चौपायाको समस्या समाधानका लागि आज नगरपालिका कार्यालयमा छलफल हुँदै छ । छाडा चौपायाको समस्या झन् बढ्दै गएपछि बुधवार स्थानीयले नगरपालिकामा मेयर र उपमेयरको कार्यकक्षमा ताला लगाएपछि बढेको विवाद र छाडा चौपायाको समाधानका विषयमा आज छलफल हुन लागेको हो ।
attariya hospital
बुधवार छाडा चौपायाको समस्या समाधानको माग गर्दै गोदावरी नगरपालिका पुगेका स्थानीय र जनप्रतिनिधि बिच भेट नभएपछि ताला लगाएका थिए । यद्यपि ताला भने नगरपालिकाले बिहीबार तोडिसकेको छ ।
बिहीबार ताला ताडेर नगरप्रमुख वीरेन्द्र भट्टले छलफलका लागि आह्वान गरेका थिए । उनले एक भिडियो सन्देश मार्फत शुक्रवार बिहान ११ बजे छलफलका लागि नगरपालिकामा आउन आह्वान गरेका हुन ।
navjiwan hospital
यसैबिच आन्दोलनरत पक्षले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर शुक्रवार नगरप्रमुखले आह्वान गरेको छलफलमा सहभागी हुने जनाइसकेको छ । तालाबन्दीमा सहभागी बिराज विष्टले नगरपालिकाले कुनै समन्वयन नगरी एकलौटी दम्भ देखाएर ताला तोडेको भए पनि आफूहरू छाडा चौपायाको समस्या समाधानका लागि जति बेला पनि तयार रहेको बताए ।
उनले तोडेर नगरप्रमुखले छलफलका लागि गरेको आह्वानमा भने आफूहरू सहभागी हुने बताए । ‘कुनै समस्याका बारेमा माग राख्न पाउने जनताको अधिकार हो । यो गोदावरी नगरवासीको साझा समस्या पनि हो । तर, यसरी माग राख्दा एकतर्फी रूपमा ताला तोडिनु गोदावरी नगरवासीको अपमान हो’ उनले भने ‘तर हामीले हिजो पनि के भनेका थियौ भने छाडा चौपायाको समस्या समाधानका लागि हामी जुनसुकै बेला पनि तयार छौ भनेका थियौ । तर, वहाँहरूले छलफलका लागि बोलाउनु भन्दा पनि ताला फोड्नुभए पनि हामी जनताको समस्या समाधानका लागि जुनसुकै बेला पनि छलफलमा जान तयार छौ ।’
तालाबन्दीमा सहभागी  भुवन महराले नगरप्रमुखले समय नदिएपछि बाध्य भएर ताला लगाएको बताउँदै आफूहरू छलफल विरोधी नभएको बताए । उनले नगरप्रमुखले ताला तोडेर विजय उत्सव मनाए पनि आफूहरू भने जुनसुकै अवस्थामा गएर पनि छलफल गरेर छाडा चौपायाको समस्या समाधानका लागि तयार रहेको बताए । ‘वहाँका लागि ताला टुटाउनु विजय होला । तर, हाम्रा लागि छाडा चौपायाको समस्या समाधान हुनु विजयको कुरा हो’ उनले भने ‘वहाँले भिडियो बनाएर रमिता देखाए पनि हामी छाडा चौपाया व्यवस्थापन हुन्छ भने जुनसुकै हदसम्म गएर पनि छलफल सहकार्य गर्न तयार छौ ।’