खाेज्नुहाेस

गौरीगंगामा विद्यालय व्यवस्थापन समिति सदस्य २ लाख घुससहित पक्राउ

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा १३ महिनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरी घुससहित एक जनालाई पक्राउ गरेको छ । आयोगको कञ्चनपुर कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर बमलाई २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता चेतराज पन्तका अनुसार विद्यालयमा कार्यरत कर्मचारीलाई सेवा–सुविधा वृद्धि गरिदिने प्रलोभन देखाउँदै रकम मागेको सूचनाका आधारमा बममाथि ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गरिएको थियो । सोही क्रममा बिहीबार उनलाई माग गरिएको रकमसहित पक्राउ गरिएको पन्तले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिममा यसअघि गत वर्ष ५ साउनमा कैलालीका सहायक वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार रुपैयाँ नगदसहित पक्राउ परेका थिए । त्यसयता करिब १३ महिनासम्म आयोगको कञ्चनपुर कार्यालयबाट भ्रष्टाचारमा संलग्न कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिलाई नगद तथा भौतिक घुससहित पक्राउ गरिएको थिएन ।

चालु आर्थिक वर्षको सुरुवाती चरणमै विद्यालय व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ परेपछि सामुदायिक विद्यालयमा हुने आर्थिक चलखेलमाथि पनि प्रश्न उठेको छ । संघीय सरकारले विद्यालय कर्मचारीको तलब वृद्धि गरेको भोलिपल्टै सेवा–सुविधा बढाइदिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले कर्मचारीसँग रकम मागेको घटना सार्वजनिक भएपछि विद्यालय कर्मचारीहरूमा समेत असन्तुष्टि देखिएको छ ।

सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति, बढुवा तथा सेवा–सुविधासम्बन्धी निर्णयमा आर्थिक चलखेल हुने गरेको गुनासो यसअघि पनि आउने गरेका थिए। पछिल्लो पक्राउले विद्यालय व्यवस्थापनमा हुने भनिएको घुस तथा कमिसनको कारोबारमाथि अख्तियारको निगरानी आवश्यक रहेको देखाएको छ ।