दार्चुला – दार्चुलाबाट गत आर्थिक वर्षमा ९० टन हिमाली जडीबुटी निकासा भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा यहाँबाट कैलाली, नेपालगन्ज, काठमाडौंलगायतका विभिन्न ठाउँमा ९० हजार १ सय २० किलोग्राम हिमाली जडीबुटी निकासी भएको हो । दार्चुलामा उत्पादन हुने बहुमूल्य जडीबुटी यार्सागुम्बा, सतुवा, कुटकी, पदमचाल, वनलसुन, झुल, गुच्छी च्याउलगायत डेढ दर्जनभन्दा बढी प्रकारका जडीबुटी निकासी भएको छ । जिल्लाभरि उत्पादन हुने करिब डेढ दर्जन प्रकारका जडीबुटी अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत बाहिर निकासी हुने गरेको हो । यहाँ उत्पादन हुने प्रमुख यार्सागुम्बा अपीनाम्पा संरक्षण क्षेत्रमा उत्पादन हुने गरेको छ ।
यहाँबाट गत आवमा ४४४.०६ किलोग्राम यार्चागुम्बा, २ हजार ५३६.२६ किलोग्राम वनलसुन, २३५ किलोग्राम टिमुर, २० क्विन्टल पाषाणभेद, चार क्विन्टल सुगन्धवाल, २० क्विन्टल अमला, ९६ क्विन्टल अल्लो, १९७ क्विन्टल तेजपात, ३२५ क्विन्टल रिठ्ठा, २० किलोग्राम सेतक चिनी र १७७ किलोग्राम चुत्रो निकासी भएको छ । यहाँका व्यापारीले हिमाली बहुमूल्य जडीबुटीका रूपमा परिचित यार्चागुम्बा र वनलसुन बाहिरी मुलुकमा समेत निर्यात गर्ने गरेका छन् ।


जिल्लाको उच्च हिमाली क्षेत्रमा पाइने डेढ दर्जनभन्दा धेरै किसिमका जडीबुटी जिल्लाबाहिर तथा देशबाहिर निकासी हुने गरेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख अमरसिंह धामीले बताए ।
उनले अधिकांश हिमाली जडीबुटी अपीनाम्पा संरक्षण क्षेत्रमा पाइने पनि सुनाए । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयमार्फत १०/१२ प्रकारका जडीबुटी हरेक वर्ष निकासी हुने गरेका छन् । बहुमूल्य जडीबुटी यार्चागुम्बा अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयमार्फत मात्रै निकासी हुने गरेको डिभिजन वन कार्यालय दार्चुलाका सूचना अधिकारी दुर्गा जोशीले जानकारी दिए । अपीनाम्पा संरक्षण क्षेत्रभन्दा बाहिरको जडीबुटी डिभिजन वन कार्यालयमार्फत निकासी हुने गरेको छ ।
हिमाली जडीबुटी पाइने हिसाबले अपीनाम्पा संरक्षण क्षेत्र डिभिजन वनभन्दा ठूलो छ । संरक्षण क्षेत्रभित्र विभिन्न ७० किसिमका जडीबुटीको पहिचान भए पनि हालसम्म ३५ किसिमका जडीबुटीको मात्रै निकासी हुँदै आएको छ । जडीबुटी निकासीबाट गत आवमा १३ करोड ९२ लाख २४ हजार ५५ रुपैयाँ राजस्व सङ्कलन भएको दुवै कार्यालयले जनाएका छन् ।


















