अत्तरिया– नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रदेश स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी सरोज बोहरा र सन्तराम थारुले हात पारेका छन् । आईतबार धनगढीमा भएको फाईनल खेलमा कपिल जोशी र दिपेन्द्र शाहलाई २– १ को सेटले पराजित गर्दै बोहरा र थारुले उपाधी जितेका हुन ।

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले प्रदेशभरमा विद्युत प्राधिकरणका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले मात्रै सहभागिता जनाउन पाउने गरी मैत्रिपुर्ण प्रतियोगिता आयोजना गरेको थियो । जसमा खुल्ला तर्फ प्रदेशभरका ३२ वटा टिमले सहभागिता जनाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि मैत्रिपुर्ण रुपमा आयोजना गरिएको सो प्रतियोगिता कार्यकारी तहका कर्मचारीहरुको लागि छुट्टै र खुल्ला गरी दुई चरणमा राखिएको थियो । कार्यकारी तहका कर्मचारीहरुको प्रतियोगितामा कपिल जोशी र राकेश भट्टले उपाधी चुम्न सफल भएका छन् । आईतबार नै भएको कार्यकारी तहका कर्मचारीहरुको फाईनल खेलमा जोशी र भट्टले जय बहादुर सिँह र खगेन्द्र धमलालाई पराजित गरेका हुन् ।
खुल्ला तर्फ र कार्यकारी तहका कर्मचारीहरुका बिजेता टोलीहरुले ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । शनिबार देखी सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।
















