धनगढी – कैलाली कञ्चनपुरका राना थारु समुदायका महिलाहरुले आज तीज मनाउँदै छन । राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आज परेको छ।
तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिइने गरिन्छ । परम्परागतकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।

सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला (पिङ) राख्ने चलन रहेको छ ।

धनगढीमा बिदा
धनगढी उपमहानगरपालिकाले राना थारु समुदायका महिलाले मनाउने तीज पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार यस वर्ष राना थारु समुदायका महिलाले मनाउने तीज पर्व साउन ३० गते परेकोले उक्त दिन एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा साउन ३० गते धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघ–संस्थामा स्थानीय सार्वजनिक बिदा लागू हुने उल्लेख गरिएको छ।
राना थारु समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको यस पर्वको संरक्षण तथा सम्मानका लागि उपमहानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।
















