दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्गेताल नजिक पहिरो खस्दा ३ जना घाइते भएका छन् । शुक्रबार साँझ रिङ्गेतालस्थित दुहु जाने जीपस्टेन्ड नजिकको पहिरो खस्दा दुहु गाउँपालिका–४ धारिका सुरज कुँवरसहित अन्य दुई जना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार सडक माथिबाट पहिरो खसेको हो । सुरजको खुट्टामा चोट लागेको छ । थप उपचारका लागि उनलाई अन्यत्र रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

यस्तै, मालिकार्जुन गाउँपालिका–२ घर भई खलंगामा बसोबास गर्दै आएका भागरती धामी र भानसिंह धामी पनि पहिरोमा परी घाइते भएका छन् । दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
पहिरो खस्दा दुहु जोड्ने तिंकर सडक अवरुद्ध भएको छ । अहिले महाकाली नगरपालिकाको डोजरले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















