बाजुरा– बाजुरामा पहिराले घर पुरिँदा बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी सोही वडाकी २० वर्षिया युवती प्रतिक्षा थापाको शव फेला परेको हो ।

बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय खटिएका थिए । पहिरोले पुरिएको घरभित्र थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।

पहिरोका कारण उक्त बस्तीका अन्य घर पनि जोखिममा रहेका स्थानीय दीपेन्द्र थापाले बताए । पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















