धनगढी – कैलालीको जोशीपुर गाउँपालिकामा बाढी प्रभावित जनताका लागि आपत्कालीन अवस्थामा तयारी, प्रतिकार्य तथा बाढीको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले परियोजना सुरु भएको छ। जोशीपुर गाउँपालिकासँगको समन्वय तथा KIA को आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुराले उक्त परियोजना सञ्चालन गर्न लागेको हो। परियोजना शुभारम्भ तथा अभिमुखीकरण गोष्ठीमा यसबारे जानकारी गराइएको छ।
गोष्ठीको एक कार्यक्रमका बीच जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले परियोजनाको उद्घाटन गरेका थिए । स्थानीय स्तरमा जनप्रतिनिधि, लक्षित समुदाय तथा सरोकारवाला निकायलाई परियोजनाबारे जानकारी गराई समन्वय तथा सहकार्यको माध्यमबाट परियोजनाका गतिविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उद्देश्यले परियोजना शुभारम्भ तथा अभिमुखीकरण गोष्ठी आयोजना गरिएको परियोजना प्रबन्धक शिवराज पाठकले जानकारी दिए ।

गोष्ठीमा परियोजनामार्फत सञ्चालन गरिने गतिविधि तथा अपेक्षित उपलब्धिबारे परियोजना प्रबन्धक पाठकले प्रस्तुतीकरण राखेका थिए ।
उनका अनुसार परियोजनामार्फत जोशीपुर गाउँपालिका–१ र ३ मा समुदायस्तरमा विपद् पूर्वतयारीका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, समुदायस्तरमा विपद् टास्कफोर्स गठन तथा अभिमुखीकरण, बाढी प्रभावितलाई राहत सामग्री सहयोग, जोखिम नक्सांकन तथा सर्वेक्षण, विपद् सामग्री सहयोग, पूर्वसूचना प्रणालीसम्बन्धी अभिमुखीकरण, टास्कफोर्स तथा समुदायका अगुवाका लागि आत्मरक्षासम्बन्धी तालिम, वृक्षारोपण तथा बायोइन्जिनियरिङ कार्य र बाढी तथा डुबान क्षेत्रमा सामुदायिक उच्च भवन निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

गोष्ठीमा जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले जोशीपुर गाउँपालिकामा MPDS ले विपद्सम्बन्धी नयाँ कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिँदै परियोजनाले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले विपद् प्रभावित लक्षित समुदायमा परियोजना सफल रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग तथा सहकार्य गर्ने र विभिन्न योजनामा बजेट साझेदारीसमेत गरिने बताए ।
कार्यक्रममा जोशीपुर गाउँपालिका–१ का अध्यक्ष रामचन्द्र चौधरी, वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद चौधरी, वडा नं. ३ का अध्यक्ष रेणुकुमारी डङ्गौरा, विपद् फोकल पर्सन सीता सिंह, सरसफाइ व्यवस्थापन फोकल पर्सन रमेश पाण्डेयलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साह, ७ वटै वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधि, भलमन्सा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रम जोशीपुर गाउँपालिका–७ का अध्यक्ष एवं वन तथा वातावरण समितिका संयोजक बमबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो।

















