
बैतडी – प्रहरीले नगर बसबाट अवैध बिडी बरामद गरेको घटनामा प्रहरीको अनुसन्धान प्रक्रिया नै विवादमा परेको छ । नगर बसका सहचालकले बिडीधनीलाई प्रहरीसमक्ष देखाएको दाबी गरे पनि प्रहरीले भने उक्त बिडीलाई ‘बेवारिसे’ उल्लेख गर्दै मुचुल्का तयार पारेर भन्सार कार्यालयमा बुझाएको स्थानीयले आरोप लगाएका छन् ।
गत आइतबार विशेष सूचनाका आधारमा झुलाघाटबाट सतबाँझतर्फ आउँदै गरेको दशरथचन्द नगरपालिकाको नगर बसलाई गोठलापानी बजारमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा २८ बण्डल घोडा ब्रान्डको अवैध बिडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
तर घटनास्थलमा रहेका नगर बसका सहचालक महेश भण्डारीले भने प्रहरीको विवरणसँग असहमति जनाएका छन् । प्रहरीले सामान कसको हो भनेर सोध्दा आफूले सम्बन्धित यात्रुलाई नै देखाइदिएको सहचालक भण्डारीले बताए ।
‘प्रहरीले सोध्दा मैले सामानधनीलाई देखाएको थिएँ, त्यसपछि पनि प्रहरीले सामान बेवारिसे बनायो,’ उनले भने, ‘यस सामानधनी र सामानका साँची गोठलापानीका बजारी र सबै यात्रु छन् ।’ घटनापछि सामाजिक सञ्जालमा नगर बसमार्फत अवैध सामान ओसारपसार भएको भन्दै विभिन्न टिप्पणी भए । प्रहरीको यस्तो काम गर्ने तरिकाले आफूहरूलाई अन्याय भएको भण्डारीले बताए ।
यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सिंहले भने अनुसन्धान जारी रहेकाले धेरै टिप्पणी गर्न नमिल्ने बताए । ‘हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धान पूरा भएपछि आवश्यक जानकारी सार्वजनिक गर्छौं ।
बिडीधनीसहित बरामद गरिएको बिडी चार दिनपछि बेवारिसे मुचुल्का तयार गरेर मात्रै भन्सार कार्यालय बुझाइनुले यो घटना झन् रहस्यमय बनेको छ ।
गत आइतबार बरामद गरेको बिडी बुधबार मात्रै ७ हजार २ सय रुपैयाँ बराबरका २८ बण्डल घोडा बिडी बुझाएको महाकाली भन्सार कार्यालय बैतडीका प्रमुख लोकेन्द्र सिंहले जानकारी दिए ।



















