धनगढी – कैलालीमा अवैध लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ र तौल गर्ने काँटासहित स्थानीय ३० वर्षीय बबि राना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

यसैगरी, घोडाघोडी नगरपालिका–२ नयाँबजारबाट १ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित बर्दगोरिया गाउँपालिका–१ का २१ वर्षीय संजिप चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले शनिबार राति शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















