खाेज्नुहाेस

बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित : पूर्व राज्यमन्त्री बम

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले श्री केदार भागेश्वर बरालगाउँ समाज सभ्य र सुसंस्कृत समाजका रूपमा स्थापित हुँदै गएको बताएका छन्।

शनिबार धनगढीमा आयोजित श्री केदार भागेश्वर बरालगाउँ समाजको दोस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री बमले समाज–समाजबीचको एकता, आपसी सहयोग र सहकार्यले नै सामाजिक सम्बन्धलाई बलियो बनाउने बताए।

attariya hospital

उनले समाज मिले मात्रै भाइचारा र बन्धुत्व कायम रहने उल्लेख गर्दै जातीय, क्षेत्रीय तथा भौगोलिक आधारमा गठन भएका समाजहरूले सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

“समाज–समाज मिलेर गाउँ बन्छ,” उनले भने, “समाजलाई एकताबद्ध र व्यवस्थित बनाउन सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ। आपसी सहयोग, सद्भाव र भाइचारालाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ।”

navjiwan hospital

पूर्व राज्यमन्त्री बमले बरालगाउँ समाजले आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई संरक्षण गर्दै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गरिरहेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा देउवा समाजका अध्यक्ष गजैसिंह देउवाले धनगढीमा स्थापित विभिन्न समाजबीच आपसी चिनजान, सहयोग र सहकार्य अझ बढाउनुपर्ने बताए। समाज गठन गर्नुको उद्देश्य केवल संगठन निर्माण गर्नु मात्र नभई आपत–विपतमा परेका सदस्यलाई सहयोग गर्नु, सुख–दुःखमा साथ दिनु र समुदायको पहिचानलाई थप मजबुत बनाउनु रहेको उनले बताए।

त्यस्तै, कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाले बरालगाउँ समाजले सामाजिक क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गरे। उनले समाजले सामाजिक एकता र सहकार्यका साथै कला, संस्कृति तथा परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याएको बताए।

समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा सिर्जनशील गड्सेरी समाजका अध्यक्ष श्याम बिष्ट, युवा नेता दिनेशराज जोशी लगायतको उपस्थिति रहेको थियो।

साधारणसभा तथा अधिवेशनमा समाजको विगतका गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा समाजलाई थप व्यवस्थित, प्रभावकारी र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो।