अत्तरिया – कैलालीको मोहन्याल गाउँपालिका –७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका चालकको उद्धार गरिएको छ ।

अविरल वर्षासँगै पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका कैलाली बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन थारु चढेको से ४ प ८६७९ नम्बरको मोटरसाइकललाई बगाएको थियो ।

बिहीबार राति करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी निरीक्षक मिरा खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले खोलाले बगाएर लैजाँदै गरेको अवस्थामा घटनास्थलभन्दा करिब १५० मिटर तल भिरालो खोलाबाट चालक थारुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोटपटक लागेको छ भने उनको समग्र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

















