धनगढी – धनगढीकी २३ वर्षीय पूजा धानुकको मृत्यु भएको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । दुवै पक्षबिच सहमति भएपछि सोमबार आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको शव परिवारले बुझेर दाहसंस्कार गरिएको हो ।

यद्यपि रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरीका अनुसार पूजाको विवाह करिब छ महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१, हातीथलाकीबाट धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग भएको थियो । साउन ११ गते उनी आफ्नै घरमा सिलिङको पङ्खामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि नवजीवन अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि पूजाका माइती पक्षले हत्या भएको दाबी गर्दै श्रीमान्, बाजे, बज्यै, फुपू र नन्दविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
घटनापछि दोस्रो दिनदेखि नै पूजाका माइती पक्षले न्यायको माग गर्दै दैनिक चारदेखि पाँच घण्टासम्म जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत विभिन्न सरकारी निकाय अगाडि धर्ना, प्रदर्शन र नाराबाजी गर्दै आएका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता योगेन्द्रप्रसाद तिमिल्सिनाले पोस्टमार्टम रिपोर्ट अझै प्राप्त नभएको बताए । ‘अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धानको काम निरन्तर भइरहेको छ । पोस्टमार्टम रिपोर्ट आउन कहिलेकाहीँ केही दिन लाग्न सक्छ, कतिपय अवस्थामा एक महिना पनि लाग्न सक्छ । अहिले हामी त्यसैको पर्खाइमा छौँ ।’ प्रहरीका अनुसार अनुसन्धान अहिले पनि जारी छ ।

















