खाेज्नुहाेस

कञ्चनपुर स्थित सशस्त्रकाे शैलेश्वरी गणले मनायाे २३ औँ स्थापना दिवस

Image
सन्तोष पन्त,  बेलौरी  – सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ ।  सोमबार शुक्लाफाँटा नगरपालिका ५ वन समिति स्थित गणको हेडक्वार्टर परिसरमा विशेष समारोहको आयोजना गरी २३ औँ स्थापना दिवस मनाइएको हो ।
attariya hospital
स्थापना दिवसको अवसरमा हेडक्वार्टर परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र खेलाडीहरूलाई सम्मान सँगै विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित स्थापना दिवस मनाइएको थियो ।
स्थापना दिवस समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा गणले वर्षभरि गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।
वि.सं. २०५८ मा स्थापित एक अर्धसैनिक राष्ट्रिय सुरक्षा निकायका रूपमा सशस्त्र प्रहरी बल नेपालको गठन भएको थियो । त्यसपछि २०६० सालमा कञ्चनपुरमा सीमा सुरक्षा कार्यालय भनी स्थापना गरिएको थियो । त्यसपछि २०७५ सालमा सशस्त्र प्रहरीको पुनर्संरचना गर्ने मन्त्रीपरिषद्को निर्णय अनुसार २०७५ साल साउनको १३ गते शुक्लाफाँटा नगरपालिका ५ नवसमितिमा तत्कालीन सीमा सुरक्षा कार्यालयलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वर गण बनाइएको थियो ।
वार्षिक प्रगति विवरण सार्वजनिक
गणको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन महिनाको हालसम्म मात्रै पनि ५० लाख २६ हजार १ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि गणले जनाएको छ ।
त्यस्तै लागू औषध सम्बन्धी ३१ घटनामा ५० जनालाई पक्राउ गरिएको छ । एक नाल भरुवा बन्दुक बरामद गरिएको छ । समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए ।
उनका अनुसार विपद्का ३४ घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको जीवित उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा उद्धार गरिएको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ पटक नमुना अभ्यास र १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको छ ।
सीमा सुरक्षातर्फ १२ पटक सीमा पैदल गस्ती, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग ६ वटा समन्वय बैठक तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको विवरणमा उल्लेख छ । साथै १३ वटा सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत तथा रंगरोगन गरेको तथा संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको छ ।
navjiwan hospital
समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ । विपद्को सूचना प्रणालीलाई प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी निरन्तर सम्पर्कमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स्थानीय तहसँगको सहकार्यमा दोधारा चाँदनी, भीमदत्त, पुनर्वास र बेलौरी नगरपालिकाबाट चार वटा रबर राफ्ट बोट प्राप्त भएपछि महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सकुशल उद्धार गर्न सफल भएको गणपति सिग्देलले बताए ।
यस्तै सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, भारतको एसएसबीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता, युवालाई केशकर्तन तालिम तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बन्दै गएको बताए । उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी र विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन तथा नागरिकसँगको समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिए । प्राप्त उपलब्धिलाई कायम राख्दै अझ व्यावसायिक, अनुशासित र परिणाममुखी ढङ्गले सेवा प्रवाह गर्न उनले मातहतका सुरक्षाकर्मीलाई आग्रह गरे ।
डिएसपी बस्नेत सम्मानित 
यसैबिच  स्थापना दिवसको अवसरमा सीमा सुरक्षा गुल्म बेलौरीका गुल्म पति सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बहादुर बस्नेतलाई सम्मान गरिएको छ । बस्नेतलाई उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कन गर्दै सम्मान गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले बस्नेतलाई नगद सहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
सीमा सुरक्षा गुल्म बेलौरीको गुल्म पतिका रूपमा कार्यरत रहँदा सरोकारवाला निकायसँग उत्कृष्ट समन्वय गर्दै विपद् व्यवस्थापन, लागू औषध तथा अवैध चोरी पैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण र राजस्व सङ्कलनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बस्नेतलाई सम्मान गरिएको थियो ।
समुदाय स्तरमा विपद् व्यवस्थापन जनशक्ति उत्पादन तथा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।