बैतडी – बैतडीको महाकाली भन्सार कार्यालय जुलाघाटले आयातबाट मात्रै लक्ष्य भन्दा १६ प्रतिशत बढी राजस्व संकलन गरेको छ । निर्यातबाट भने शून्य आम्दानी भएको छ ।
गत आर्थिक वर्षमा कार्यालय लाई प्राप्त राजस्व लक्ष्य ९० लाख ९५ हजार भएकोमा कार्यालयले १ करोड ६ लाख १९ हजार ३१९ रुपैयाँ संकलन गरेको कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।


कार्यालयले संकलन गरेको रकम लक्ष्यभन्दा १६.७६ प्रतिशत बढी रकम संकलन भएको उनले बताए । ‘यो भन्सार कार्यालयबाट संकलित सबै रकम आयात वस्तुको भन्सार शुल्क, पैठारी, मूल्य अभिवृद्धिबाट प्राप्त भएको हो,’ उनले भने, ‘निर्यात भने यो भन्सारमा शून्य हुन्छ ।’
भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट २ लाख १२ हजार ५०० मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १५५ रुपैयाँ संकलन गरिएको हो । यस्तै अन्तशुल्कबाट १ लाख २२ हजार ७०४ र दण्ड जरिवाना धितो लिलामबाट ५४ लाख ६१ हजार १७३ रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा कार्यालयले ९२ लाख राजस्व संकलनको लक्ष्य पाएको छ । आर्थिक वर्ष २०८१/८२ मा भने कार्यालयले पाएको लक्ष्य भन्दा कम राजस्व संकलन गरेको थियो । २०८१/८२ मा १ करोड ५ लाख लक्ष्यमा ७४ प्रतिशत अर्थात ७७ लाख ७० हजार मात्र राजस्व संकलन गर्न सकेको थियो ।
पछिल्लो समय बैतडीको सबै ठाउँमा सडक सञ्जाल विस्तार भएसँगै कैलाली र कञ्चनपुरबाट थोक विक्रेताका गाडी पसलेको गोदामसम्मै सामान पुर्याउन थालेपछि यो भन्सारबाट आयात घटेको छ । पहिले यो नाकाबाट चुनढुंगा, घिउ र जडीबुटी निर्यात हुने गरे पनि चार वर्षयता यी बस्तुको निर्यात शून्य भएको प्रमुख सिंहले बताए।

















