खाेज्नुहाेस

दार्चुलाका दुर्गम बस्तीहरू अझै तुइनमै निर्भर

Image
file photo

दार्चुला –  दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ । यहाँका बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्ने तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन् ।

तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती व्यास गाउँपालिका–२, दुम्लिङका स्थानीय बासिन्दा । तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुन्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन् । यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्बाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वारपार गर्ने गर्छन् ।

attariya hospital

महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ । यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वारपार गर्नुपर्ने बाध्यता बनेको छ । वर्षात्मा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन् ।

navjiwan hospital

दुम्लिङसम्म जान वर्षायाममा गाडी सञ्चालन हुने सडकको सुविधा छैन । पैदल हिँड्नसमेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले बताए। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उनकाे भनाइ छ । यहाँका स्थानीयवासीले बर्सौंदेखि सो स्थानमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेका भए पनि समस्याको अझै समाधान हुन सकेको छैन ।

व्यास–२, दुम्लिङका वडाअध्यक्ष धिरन बुढाथोकीले २०५२ सालदेखि पुलको माग गर्दै आइरहेको तथा हालसम्म पनि सम्बोधन हुन नसकेको गुनासो गरे ।

तुइन तरेर भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आउन एकदेखि डेढ घण्टा मात्रै लाग्छ भने नेपालबाट गाडीमा एक दिन तथा हिँडेर दुई दिनसम्म लाग्ने गरेको छ । भारततर्फ कालोपत्रे सडक छ भने नेपालतर्फको सडकमा सुन्सेराभन्दा माथिको क्षेत्रमा गाडी चल्न सक्ने अवस्था छैन । तुइनकै जोखिमपूर्ण यात्रा गर्ने क्रममा हालसम्म यहाँका ३६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाएकामध्ये वडा कार्यालयको रेकर्डमा २३ जना छन् भने बाँकीको रेकर्ड भेटिएको छैन । विसं २०५० देखि २०८२ असार ३१ गतेसम्मको तथ्याङ्क वडा कार्यालयमा भेटिएको वडाअध्यक्ष बुढाथोकीले बताए ।

महाकाली नगरपालिकाका बिरा लोथ्याल, हुम्लाका कैलाश लामा र भारतको गर्भाधारका महिमन गब्र्यालसमेत यही तुइनबाट खसेर बेपत्ता भएका वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो क्षेत्रमा पुल नभएका कारण अवैध रूपमा तुइन लगाउन यहाँका स्थानीय बासिन्दा बाध्य छन् ।