अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा प्रहरीले करिब ६ सय क्युफिट सालको अवैध काठ बरामद गरेको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय गुलरिया, डिभिजन वन कार्यालय महेन्द्रनगरका वन अधिकृत तथा सब–डिभिजन वन कार्यालय वाणीका रेन्जर सहितको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–१ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूहको भवन परिसरमा बेवारिसे अवस्थामा राखिएको ठुलो परिमाणको सालको काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त काठ कैलालीको गोदावरी नगरपालिका–११ धौलेपानीस्थित राष्ट्रिय वनबाट लगिएको आशंका गरिएको छ ।

बरामद काठ आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सब–डिभिजन वन कार्यालय बाणी, कञ्चनपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन् ।

















