धनगढी– कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध सामग्री बरामद गरेको छ । बिहिबार दुई जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २ लाख ५४ हजार बराबरका अवैध सामान बरामद गरेको हो ।

प्रहरीले कैलालीका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५० हजार ५० रुपैँया बराबरको सामान बरामद गरेको छ । भन्सार छलीको चिनी, पटका, साडी, सुटपिस, व्लाउज, विभिन्न किसिमका फलफुलका वोट विरुवा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ डोकेबजार गुम्बा नजिकबाट प्रहरीले १ लाख ४ हजार मुल्य बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो । बिहिबार राति प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रकम बराबरको चस्माको ग्लास बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
















