अत्तरिया – कैलालीको घोडाघोडी नगरपालिका–४ गैडाखेडामा गोठमा भैँसीलाई लामखुट्टे भगाउन बालेको आगो फैलिँदा घरसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार स्थानीय अर्जुनबहादुर बुढाको काठले बनेको टायलले छाएको एकतले गोठमा बुधबार राति भैँसीलाई लामखुट्टे भगाउन बालिएको आगो अनियन्त्रित भई गोठबाट दुईतले घरमा समेत फैलिएको थियो ।

आगलागीबाट घर र गोठभित्र रहेका नगद, गरगहना, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा तथा अन्य जिन्सी सामान गरी अनुमानित २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


















