कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । २०८२ मा गरिएको राष्ट्रिय बाघ सर्भेक्षण अनुसार निकुञ्जमा बाघको संख्या ५० पुगेको हो । बुधबार विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांक अनुसार निकुञ्जमा अघिल्लो २०२२ को राष्ट्रिय गणनाको तुलनामा १४ ले वृद्धि भएको हो । त्यतिबेला यहाँ बाघको संख्या ३६ पुगेको थियो ।

निकुञ्ज कार्यालयले २०२४ मा गरेको आन्तरिक अनुगमन तथा गणनामा यहाँ बाघको संख्या ४३ थियो । एक वर्षमै ७ ले बढेर ५० पुगेको हो ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्ज र आसपासको क्षेत्रमा गत वर्ष गणना गरिएको थियो । शुक्लाफाँटा लालझाडी कम्पलेक्समा २ गुणा २ किलोमिटरका ग्रीड बनाएर हरेक ग्रीडमा एक जोडी स्वचालित क्यामेरा कम्तीमा १५ दिनसम्म राखिएको थियो ।
तिनै स्वचालित क्यामेराले कैद गरेको तस्बिरका आधारमा बाघको संख्या एकिन गरिएको हो । बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार देशभरिमा बाघको संख्या बढेर ४ सय २९ पुगेको छ । वासस्थानको उचित व्यवस्थापनदेखि आहारा प्रजातिको उपलब्धता लगायतका कारण बाघको संख्या निरन्तर वृद्धि भइरहेको संरक्षणकर्मीहरु बताउँछन् ।
















