अत्तरिया – कैलालीको अत्तरियामा शाही शासनकालको मन्त्री परिषद्को निर्णयबाट सशस्त्र प्रहरीले भोगाधिकार लिएको जग्गा फिर्ता गर्न माग गरिएको छ । बुधवार अत्तरिया उद्योग वाणिज्य संघले कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालालाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो । संघका अध्यक्ष कमल कडायतले सांसद कोइरालालाई ज्ञापन पत्र बुझाउँदै स्थानीयले पहिलै देखि भोगाधिकार गरेका जग्गा पछि सशस्त्रको नाममा भएकाले फिर्ता गर्नका लागि पहल गरिदिन आग्रह गरे ।
सांसद कोइरालालाई बुझाइएको ज्ञापन पत्रमा गोदावरी नगरपालिका – २ उत्तर वनखेतमा २०४० सालदेखि बसोबास गरिरहेका अन्दाजी ३०० घरधुरी, अत्तरिया उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, दलित एकता समाज, कालिका मन्दिर, शिव मन्दिर, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, खैराना बास्कोटा गाउँ जाने मूल बाटो तथा अन्य सार्वजनिक बाटाहरू समेत २०५८ सालमा स्थापना भएको सुदूरपश्चिम सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीले २०६२/३/१५ गते शाही शासनकालको मन्त्री परिषद्को निर्णयबाट भोगाधिकारमा लिएको उल्लेख छ ।

उक्त निर्णयबाट हाल घर, संघसंस्था, मठमन्दिर, विद्यालय विस्थापित हुनुपर्ने अवस्था सृजना भएकाले यथावत् कायम रहने गरी जमिन ज–जसका चलन भोगमा रही आएको छ सोही बमोजिम गराउन सहयोग गरिदिन ज्ञापन पत्रमा आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा उद्योग वाणिज्य संघ अत्तरियाको नामाङ्कन र गठन हुनु पूर्व २०५८ सालमा बजार व्यवस्थापन समितिले तत्कालीन मालाखेती ४ हालको भवन निर्माण भएको स्थानमा कच्ची टहरो बनाएर भोगचलनमा ल्याएको उल्लेख छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको कार्यालय स्थापना गर्न सम्पूर्ण राजनीतिक दल, समाजसेवी, नागरिक समाज, उद्योगी, व्यापारी सबैको सहमतिमा छनौट गरी उद्योग, व्यापार, व्यवसायको संरक्षण, पर्वद्धन गर्ने हेतुले कार्यालय स्थापना भएको हो । मिति २०६६ भाद्र ८ गते यस अत्तरिया बजारलाई व्यवस्थित गर्न अत्तरिया बजार व्यवस्थापन समितिको रूपमा विधिवत् दर्ता भई विभिन्न रचनात्मक, सामाजिक कार्य गर्दै अघि बढी राखेको अवस्थामा २०६९ साल चैत्र ७ गते कार्यालय व्यवस्थापनार्थ यहाँका क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि ज्यूहरूको उपस्थितिमा बैठक बसी सो सम्बन्धमा छलफल भई भवन निर्माण कार्य अगाडी बढाउने भन्ने निर्णय भएको थियो । सोही मितिबाट बजार व्यवस्थापन समितिलाई उद्योग वाणिज्य संघ अन्तर्गत राख्ने गरी कार्यालयलाई व्यवस्थित गरी अगाडि बढाइरहेकै अवस्थामा मिति २०७१ ज्येष्ठ २१ गतेका दिन अत्तरिया उद्योग वाणिज्य संघको स्थापना भएको र सो मार्फत भए गरेका सम्पूर्ण कार्य हाल अत्तरिया उद्योग वाणिज्य संघ मार्फत अगाडी बढाइएका छन् ।’
लामो इतिहास बनाइसकेको अत्तरिया उद्योग वाणिज्य संघले स्थानीय निकाय, विभिन्न उद्योगी व्यापारी व्यक्तित्व लगायतको सहयोगमा सहयोग जुटाई करिब दुई करोडको लगानीमा भवन निर्माण गरेको भए पनि सो क्रममा कहीँ कतैबाट केही जानकारी तथा रोकावट नभएको र हाल आएर सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेश वैद्यनाथ वाहिनीको नाममा रहेको भनी वैद्यनाथ वाहिनीले उक्त यस संघको भोगचलनमा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै सांसद कोइरालाले उद्योग वाणिज्य संघको आवश्यक कागजात तयार गरेर केन्द्रबाटै समाधान गर्न सकिने बताए । उनले यसको भोगाधिकार फिर्ता लिनका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भएकाले त्यसका लागि आफूले आवश्यक पहल गर्ने बताए ।















