कञ्चनपुर – कञ्चनपुरमा नदी, खोलानालामा असार १ गतेदेखि उत्खनन् बन्द गरिएको भए पनि नदीजन्य पदार्थको चोरी तस्करी भइरहेको छ । जिल्लाका विभिन्न खोलानालाहरूबाट गैरकानुनी रूपमा नदीजन्य पदार्थको उत्खनन, चोरी तस्करी भइरहेको हो ।

सोमबार मात्रै प्रहरीले चुरे क्षेत्र ओदाला खोलाबाट ढुंगा चोरीको आरोपमा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेकबहादुर रावतले कृष्णपुर नगरपालिका– १, ओदालाखोलाबाट अवैध रूपमा ढुंगा निकालेर ओसार्न लागेको अवस्थामा ढुंगा, ट्र्याक्टरसहित मानिस नियन्त्रणमा लिएको बताए ।

उनका अनुसार पुष्कर चौधरीले चलाएको से.१त ८७०१ र प्रकाश चौधरीले चलाएको सुपप्र ०१००२ त ४६३८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको छ । आउँसो भदौ मसान्तसम्म खोलानाला बन्द हुने भए पनि यही मौकामा चोरी तस्करी बढेपछि नागरिक स्तरबाट चिन्ता व्यक्त गरिएको छ ।



















