कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकीमा छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ ।
युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए ।


‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सोही क्रममा सोमबार मात्रै त्यस क्षेत्रमा १५० भन्दा बढी पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ । स्वतस्फूर्त रुपमा २०÷२२ जना युवा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्ने अभियानमा जुटेका छन ।
स्थानीय युवाको उक्त कार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत साथ दिएको छ ।
कञ्चनपुर जिल्लामा मात्रै हजारभन्दा बढी छाडा पशु चौपाय रहेको आकलन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले भने पछिल्लो समय छाडा पशु चौपाया व्यवस्थापनमा जुटेको छ । अन्य पालिकाले पनि छाडा पशु व्यवस्थापनमा पहल गरे पनि सार्थकता पाउन सकेको देखिन्न ।



















