दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो । भवनको कार्यान्वयन शैल्यशिखर नगरपालिकामार्फत हुनेछ । दार्चुला जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुधार गर्न मद्दत पु¥याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।


















