खाेज्नुहाेस

व्यक्तिगत माग, हल्ला, पूर्वाग्रहका आधारमा राजीनामा दिनेछैनँ : रजिस्ट्रार चन्द

Image

अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले व्यक्तिगत माग, अपूर्ण सूचना, हल्ला, पूर्वाग्रह वा दबाबका आधारमा म राजीनामा नदीने बताएका छन । डा. गोविन्द केसीलाई खुला पत्र लेख्दै उनले “डा. भीमबहादुर चन्द रजिस्ट्रार पदका लागि अयोग्य छन्” भन्ने लिखित निष्कर्ष प्राप्त भएमा एक मिनेटभित्र आफ्नो पदबाट राजीनामा दिने बताएका छन ।

उनले भनेका राजीनामा मौखिक दबाब, व्यक्तिगत आग्रह, हल्ला वा पूर्वाग्रहका आधारमा होइन तथ्य, प्रमाण र जिम्मेवारीसहितको लिखित निष्कर्षका आधारमा हुनुपर्ने बताएका छन ।

attariya hospital
navjiwan hospital

यस्तो छ उनको खुला पत्र  :

डा. गोविन्द के.सी.ज्यूप्रति खुला प्रश्न
आदरणीय डा. गोविन्द के.सी.ज्यू,

यदि तपाईंलाई खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट भई नियुक्त भएको व्यक्तिले पाँच दिनसम्म पनि काम गर्न नपाउँदै रजिस्ट्रार पदबाट राजीनामा दिनुपर्छ भन्ने लाग्छ भने म पद त्याग्न तयार छु। यो पद मेरा लागि व्यक्तिगत प्रतिष्ठा, सुविधा वा स्वार्थपूर्तिको माध्यम होइन। तर मेरो राजीनामा माग्नुको तथ्यगत, कानुनी र नैतिक आधार के हो भन्ने विषयमा तपाईंले राष्ट्र र सम्पूर्ण नेपाली जनतासामु स्पष्ट जवाफ दिनुपर्छ।
म सुदूरपश्चिमको एक सामान्य किसान परिवारमा जन्मिएको व्यक्ति हुँ। सीमित अवसर र अनेक कठिनाइका बीच अध्ययन गर्दै अगाडि बढेको हुँ। मेरो जीवनका झन्डै तीन दशक चिकित्सा शिक्षा, मेडिकल कलेज प्रशासन, अस्पताल व्यवस्थापन र संस्थागत नेतृत्वमा बितेका छन्।
मैले वरिष्ठ लेखापालदेखि वरिष्ठ लेखा अधिकृत, वरिष्ठ प्रशासक र प्रमुख कार्यकारी अधिकृतसम्मका जिम्मेवारी सम्हालेको छु। नेपाल मेडिकल काउन्सिलको कार्यकारी बोर्ड सदस्य तथा गेटास्थित स्वास्थ्य विज्ञान संस्थाको कार्यकारी परिषद् सदस्यका रूपमा समेत काम गरिसकेको छु।
मैले चिकित्सा शिक्षा क्षेत्रलाई बाहिरबाट हेरेको मात्र होइन; यस क्षेत्रका अवसर, समस्या, कमजोरी, विकृति र सुधारका सम्भावनालाई दशकौँसम्म संस्थाभित्रै बसेर अनुभव गरेको छु। त्यही ज्ञान र अनुभवलाई आफ्नै जन्मभूमि र सुदूरपश्चिमका जनताको सेवामा प्रयोग गर्ने उद्देश्यले म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदका लागि खुला प्रतिस्पर्धामा सहभागी भएको हुँ।
शिक्षा मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक विज्ञापनअनुसार भएको खुला प्रतिस्पर्धामा १९ जना आवेदकमध्ये मूल्यांकन प्रक्रियाबाट म पहिलो स्थानमा छनोट भएको हुँ। म कुनै राजनीतिक नियुक्ति, पारिवारिक पहुँच, व्यक्तिगत प्रभाव वा बन्द कोठाको निर्णयबाट यो पदमा आएको होइन।
त्यसैले मेरा केही स्पष्ट प्रश्न छन्:
एउटै विज्ञापनअन्तर्गत प्रतिस्पर्धा गरेका अन्य उम्मेदवार योग्य हुने, तर मूल्यांकनमा पहिलो स्थानमा छनोट भएको म मात्रै अयोग्य कसरी भएँ?
मेरो नियुक्तिमा कानुनी वा प्रक्रियागत त्रुटि भएको हो भने त्यसको प्रमाण सार्वजनिक गरियोस्। मेरो योग्यता अपुग छ भने कुन कानुन, कुन मापदण्ड र कुन आधारमा अपुग छ, स्पष्ट भनियोस्।
मेरो विगतको काममा कुनै अनियमितता भएको छ वा मेरो नियुक्तिमा स्वार्थको द्वन्द्व प्रमाणित भएको छ भने तथ्यसहित निष्पक्ष छानबिन गरियोस्। म त्यस्तो छानबिनको सामना गर्न पूर्ण रूपमा तयार छु।
तर कुनै प्रमाण प्रस्तुत नगरी केवल “स्वार्थको द्वन्द्व” भन्ने आरोप लगाएर मेरो पदको बलिदान माग्नु न्याय हो कि व्यक्तिगत पूर्वाग्रह?
डा. के.सी.ज्यू, के यो तपाईंको चिकित्सा शिक्षा सुधारको सिद्धान्त हो, वा कुनै व्यक्तिप्रतिको व्यक्तिगत असहमति र पूर्वनिर्धारित धारणा?
के सुदूरपश्चिमले आफ्नै माटोमा जन्मिएको, चिकित्सा शिक्षा व्यवस्थापनमा लामो अनुभव हासिल गरेको र खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट ठहरिएको व्यक्तिबाट सेवा पाउने अधिकार राख्दैन?
के सुदूरपश्चिमको नागरिक भएकै कारण म अयोग्य भएको हुँ?
के गेटाको अस्पताल निर्देशक, उपकुलपति, रेक्टर वा रजिस्ट्रारमध्ये कोही पनि सुदूरपश्चिमको नागरिक हुनु हुँदैन?
के सुदूरपश्चिमका मानिसहरू सधैँ सेवाग्राही मात्र भइरहने र आफ्नै प्रदेशमा स्थापना भएको संस्थाको नेतृत्व गर्न कहिल्यै योग्य नठहरिने हुन्?
सुदूरपश्चिमका नागरिकले दशकौँदेखि गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको अभाव भोगिरहेका छन्। आज पनि यहाँका धेरै नागरिक उपचारका लागि काठमाडौं वा भारतका विभिन्न सहरसम्म जान बाध्य छन्।
गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कुनै साधारण संस्था होइन। यो सुदूरपश्चिमका नागरिकको लामो संघर्ष, त्याग, सपना र अपेक्षासँग जोडिएको संस्था हो। यस्तो संस्थालाई सफल बनाउन योग्यता, अनुभव, इमानदारी, संस्थागत क्षमता र स्थानीय सामाजिक तथा भौगोलिक यथार्थको ज्ञान आवश्यक हुन्छ।
म नियुक्त भएको पाँच दिनमै मेरो कार्यक्षमता कसरी मूल्यांकन गरियो?
मैले कुन निर्णयमा अनियमितता गरेँ?
म कुन जिम्मेवारी पूरा गर्न असफल भएँ?
मैले विश्वविद्यालय वा सार्वजनिक हितविपरीत कुन काम गरेँ?
मलाई काम सुरु गरेर परिणाम देखाउने अवसरसमेत नदिई मेरो चरित्र, योग्यता, क्षमता र नियतमाथि प्रश्न उठाउनु कसरी न्यायसंगत हुन सक्छ?
म सार्वजनिक पदमा रहेकाले मेरो काम, निर्णय र आचरणमाथि प्रश्न उठाउने अधिकार प्रत्येक नागरिकलाई छ। म निष्पक्ष छानबिन, सार्वजनिक परीक्षण र कानुनी प्रक्रियाबाट भाग्ने व्यक्ति होइन। बरु मेरो नियुक्ति प्रक्रिया, योग्यता, अनुभव र विगतको भूमिकाबारे आवश्यक छानबिन गर्न म स्वयं आग्रह गर्दछु।
तर छानबिन तथ्यमा आधारित हुनुपर्छ, आरोपमा होइन। निर्णय कानुनअनुसार हुनुपर्छ, व्यक्तिगत दबाबअनुसार होइन। मेरो मूल्यांकन मेरो जन्मस्थान, थर, क्षेत्र वा पहिचानका आधारमा होइन; योग्यता, अनुभव, इमानदारी, कार्यक्षमता र परिणामका आधारमा हुनुपर्छ।
डा. के.सी.ज्यूले नेपालको चिकित्सा शिक्षा सुधारका लागि गर्नुभएको संघर्ष र योगदानप्रति मेरो सम्मान छ। तर चिकित्सा शिक्षा सुधारको अभियान चलाउने व्यक्तिले अरूमाथि आरोप लगाउँदा अझ जिम्मेवार, निष्पक्ष र तथ्यपरक हुनुपर्छ।
कुनै व्यक्तिको दशकौँको व्यावसायिक यात्रा, योग्यता, अनुभव र खुला प्रतिस्पर्धाबाट प्राप्त उपलब्धिलाई तथ्य र प्रमाणविना अस्वीकार गर्नु सुधार होइन; त्यो अर्को प्रकारको अन्याय हो।
म पदमा टाँसिएर बस्न चाहने व्यक्ति होइन। यदि निष्पक्ष छानबिनबाट म अयोग्य प्रमाणित भएँ, मेरो नियुक्ति कानुनविपरीत भएको प्रमाणित भयो वा मेरो उपस्थितिले विश्वविद्यालयको हितमा वास्तविक क्षति पुगेको देखियो भने म एक क्षण पनि पदमा बस्नेछैनँ।
तर कसैको व्यक्तिगत माग, अपूर्ण सूचना, हल्ला, पूर्वाग्रह वा दबाबका आधारमा म राजीनामा दिनेछैनँ। किनकि यो विषय मेरो पदको मात्र होइन। यो खुला प्रतिस्पर्धाको विश्वसनीयता, विधिको शासन, सुदूरपश्चिमको आत्मसम्मान र प्रत्येक योग्य नेपाली नागरिकले आफ्नो क्षमताअनुसार राष्ट्रको सेवा गर्न पाउने अधिकारको विषय हो।
मलाई पद होइन, न्याय चाहिएको छ।
मलाई संरक्षण होइन, निष्पक्ष मूल्यांकन चाहिएको छ।
मलाई विशेष सुविधा होइन, कम्तीमा काम गरेर आफ्नो क्षमता प्रमाणित गर्ने अवसर चाहिएको छ।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण माननीय सांसदज्यूहरू, माननीय शिक्षामन्त्रीज्यू र नेपाल सरकारलाई पनि मेरो खुला आग्रह छ—यदि तपाईंहरूलाई म शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रार पदका लागि अयोग्य छु भन्ने लाग्छ भने त्यसको स्पष्ट कारण र आधारसहित लिखित रूपमा दिनुहोस्।
सुदूरपश्चिमका माननीयज्यूहरू, शिक्षा मन्त्रीज्यू र नेपाल सरकारबाट “डा. भीमबहादुर चन्द रजिस्ट्रार पदका लागि अयोग्य छन्” भन्ने लिखित निष्कर्ष प्राप्त भएको एक मिनेटभित्र म आफ्नो पदबाट राजीनामा दिनेछु।
किनकि सुदूरपश्चिमका जनप्रतिनिधि, सम्बन्धित मन्त्रालय र सरकारको विश्वाससमेत प्राप्त गर्न नसक्ने अवस्थामा पदमा बसिरहनुको कुनै औचित्य हुँदैन।
तर मेरो राजीनामा मौखिक दबाब, व्यक्तिगत आग्रह, हल्ला वा पूर्वाग्रहका आधारमा होइन; तथ्य, प्रमाण र जिम्मेवारीसहितको लिखित निष्कर्षका आधारमा हुनुपर्छ।
यदि तपाईंहरू मेरो योग्यता, अनुभव र खुला प्रतिस्पर्धाबाट भएको छनोटप्रति विश्वस्त हुनुहुन्छ भने सुदूरपश्चिमको अधिकार, सम्मान, खुला प्रतिस्पर्धाको मर्यादा र संस्थागत न्यायका पक्षमा स्पष्ट रूपमा उभिनु पनि तपाईंहरूको जिम्मेवारी हो।
अन्ततः मेरो आग्रह सरल छ—
व्यक्ति होइन, प्रक्रिया हेरौँ।
पूर्वाग्रह होइन, प्रमाण हेरौँ।
जन्मस्थान होइन, योग्यता हेरौँ।
आरोप होइन, काम र परिणामका आधारमा मूल्यांकन गरौँ।
डा. गोविन्द के.सी.ज्यू, मेरो राजीनामा माग्नुअघि मेरा यी प्रश्नहरूको स्पष्ट, तथ्यपूर्ण र सार्वजनिक जवाफ दिनुहोस्।

डा. भीमबहादुर चन्द
रजिस्ट्रार
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय