खाेज्नुहाेस

भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन

Image

डोटी – काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित केदार सूर्य बहुमुखी क्याम्पसको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

पहिले श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको रूपमा चिनिएको यो क्याम्पसलाई पुन: नामाकरण गरिएको हो।

attariya hospital
navjiwan hospital

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत प्राप्त आर्थिक सहयोगमा यो भवन निर्माण भएको हो। डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको यस दुई तल्ले भवनको प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरू रहेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल ब्याचलर अफ एजुकेसन (बी.एड.) र ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) कार्यक्रमहरू सञ्चालनमा छन्। नयाँ निर्मित पूर्वाधारले यस क्षेत्रको शैक्षिक स्तर उकास्न ठूलो मद्दत पुर्‍याउने विश्वास क्याम्पस व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्। कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष र सरोकारवालाहरूले भारत सरकारले पुर्‍याउँदै आएको विकास सहयोगको प्रशंसा समेत गरे।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु गरेयता नेपालका ७ वटै प्रदेश र ७४ जिल्लाहरूमा करिब ६०० वटा परियोजना अघि बढाइसकेको छ। जसमध्ये सुदूरपश्चिम प्रदेशमा ४७ वटा परियोजना सञ्चालनमा छन् भने डोटी जिल्लामा मात्रै ४ वटा परियोजना रहेका छन्।

यसका साथै स्वास्थ्य र शिक्षा क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले भारत सरकारले डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ। समग्र सुदूरपश्चिम प्रदेशमा भने हालसम्म ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ।