अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा देखिएको दुबिधा अन्त्य गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले सुदूरपश्चिमेली जनतामा फैलिएको दुबिधा भ्रम तथा अन्योलताको तत्काल निराकरण गर्न माग गरेको हो ।
विज्ञप्तिमा डा. गोविन्द के.सी. ले साउन ७ गते पत्रकार सम्मेलन तथा सत्याग्रहको पूर्व सन्ध्यामा व्यक्त गरेको ‘हतारमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर्नु भन्दा त्रिभुवन विश्वविद्यालय चिकित्सा स्वास्थ्य अध्ययन संस्थान तथा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउनु उपयुक्त हुन्छ’ भन्ने अभिव्यक्ति प्रति संघर्ष समितिको गम्भीर आपत्ति रहेको उल्लेख छ ।

विज्ञप्तिमा डा. केसीबाट यस विश्वविद्यालयको स्थापना र सञ्चालनको विषयमा विगतदेखि पटक–पटक सार्वजनिक रूपमा नकारात्मक अभिव्यक्ति आउँदा सुदूरपश्चिमेली जनताको भावना, त्याग र लामो सङ्घर्षप्रति असम्मान गरेको ठहर गरिएको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे, सहसंयोजक आनन्द भट्ट र सचिव धर्म सिंह कुवरद्वारा जारी जारी विज्ञप्तिमा डा. केसीले उठाएका केही विषयप्रति भने संघर्ष समितिको पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘विशेष गरी उपकुलपति तथा रजिष्ट्रारको नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ को प्रतिकूल भएको भन्ने आरोपले विश्वविद्यालय सञ्चालन सम्बन्धमा थप अन्योल र भ्रम सिर्जना गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘तसर्थ, सम्बन्धित निकाय समक्ष हाम्रो हार्दिक अनुरोध छ कि उक्त नियुक्तिहरू प्रचलित कानुनबमोजिम भएका हुन् वा होइनन् भन्ने विषयमा स्पष्ट, आधिकारिक र तथ्यपरक जानकारी सार्वजनिक गरियोस् ।’
पछिल्ला दिनहरूमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रसारित तथ्यहीन, अपुष्ट तथा भ्रमपूर्ण सामग्रीहरूले विश्वविद्यालय सञ्चालनको वातावरणमा प्रतिकूल प्रभाव पारिरहेकोप्रति पनि गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘सत्य तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा अपुष्ट र भ्रामक सामग्री प्रकाशन वा प्रसारण नगर्न सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा यो संघर्ष समिति हार्दिक अनुरोध गर्दछ ।’



















