अत्तरिया – कैलालीको हाटखोलीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शनिवार गोदावरी नगरपालिका ४ हाटखोली नदीमा डुबेर जोशीपुर गाउँपालिका – २ का १५ वर्षीय पुष्पराज चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार साढे ४ बजेको समयमा नदीमा डुबेर घाइते भएका उनलाई सँगै गएका साथीहरू धनगढी उपमहानगरपालिका – ७ धुइयाघाटका १७ वर्षीय अर्मान राना र सोही वडाको मोतिचोकका १७ वर्षीय किशोर थापाले निसर्ग अस्पताल धनगढीमा ल्याएका भए पनि उपचारका क्रममा ५ बजे मृत्यु भएको थियो ।

मृतक बालक हाल धनगढी उपमहानगरपालिका – ७ मनहेरामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
बालकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।


















