धनगढी – महाकाली र पूर्व–पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तथा सडक सुरक्षा अभिवृद्धिका लागि साढे आठ करोड रुपैयाँभन्दा बढीको ठेक्का आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले विभिन्न सातवटा आयोजनाका लागि खुला प्रतिस्पर्धात्मक विद्युतीय बोलपत्र (इ–टेन्डर) आह्वान गरेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार कञ्चनपुर र कैलाली क्षेत्रमा पर्ने राजमार्गका विभिन्न जीर्ण खण्डहरूको मर्मत–सम्भार, सडक स्तरोन्नति, ढलान (रिजिट पेभमेन्ट) तथा सडक सुरक्षाका पूर्वाधार निर्माणका लागि कुल ८ करोड ५४ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा काम अघि बढाउन लागिएको हो ।

सार्वजनिक गरिएको बोलपत्र सूचना अनुसार महाकाली राजमार्ग (एनएच–६६) अन्तर्गत अत्तरिया खण्ड, गोपालेदेखि सहजपुर र गोदावरीदेखि फल्टुडेसम्मको सडक स्तरोन्नति गरिनेछ । जसमध्ये गोपाले–सहजपुर खण्डमा सडकलाई दिगो र मजबुत बनाउन ‘रिजिट पेभमेन्ट’ प्रविधि प्रयोग गरिनेछ । यसका साथै धनगढीदेखि फल्टुडेसम्मको ६८ किलोमिटर खण्डमा यात्रा सहज र सुरक्षित बनाउन सडक सुरक्षा सम्बन्धी काम गरिनेछ ।

यसैगरी पूर्व–पश्चिम महेन्द्र राजमार्ग (एनएच–०१) अन्तर्गत अत्तरियादेखि कञ्चनपुरको सीमावर्ती नाका गड्डाचौकीसम्मा सडक स्तरोन्नति र सुरक्षाका कामहरू अघि बढाइनेछ । अत्तरिया–गड्डाचौकी खण्डमा सवारी साधनको चाप र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सडक मर्मत र सुरक्षा पूर्वाधारका लागि छुट्टाछुट्टै दुईवटा ठेक्का आह्वान गरिएको छ ।
साथै, सडक डिभिजन कार्यालयका लागि आवश्यक निर्माण सामग्री आपूर्तिको काम समेत सोही बोलपत्रमार्फत गराइनेछ । कार्यालयले योग्य तथा इच्छुक निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को आधिकारिक वेबसाइटमार्फत विद्युतीय प्रणालीबाट मात्र बोलपत्र पेस गर्न आग्रह गरेको छ ।


















