धनगढी –धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बिहीबार गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशीको आह्वानमा बिहिबार आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रममा नगर प्रमुख हमालसहित जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी तथा नगर प्रहरी बलको सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले विभिन्न मेसिन तथा उपकरणहरू प्रयोग गरेको थियो। अभियानका क्रममा सात वटा ब्याकहोलोडर, घाँस काट्ने मेसिनसहितको एक ट्याक्टर तथा एक ग्रेडर परिचालन गरिएको थियो।


अभियानका क्रममा विश्वविद्यालय परिसरभित्र रहेका फोहोर, झारपात तथा अव्यवस्थित सामग्री हटाउँदै वातावरणलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने कार्य गरिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा नगर प्रमुख गोपाल हमालले सुदूरपश्चिम प्रदेशको गौरवका रूपमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विकास र संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गरे।
उनले सुदूरपश्चिमको सपना बोकेको विश्वविद्यालय निर्माण हुँदैछ। यसको विकास र संरक्षणमा सबैले मिलेर योगदान पुर्याउनुपर्ने बताए।















