खाेज्नुहाेस

अपनत्वको झझल्को दिने बृहत् सरसफाइ

Image

अत्तरिया – कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बुधवार सयौँको सहभागितामा सरसफाइ गरिएको छ । तीन दशकदेखि सुदूरपश्चिमवासीले देख्दै आएको सपना साकार हुने अपेक्षा सहित उत्साहित स्थानीयले आफ्नै सम्पत्ति सरह अपनत्वको भावना सहित सरसफाइ गरे । करिब ७ अर्बका संरचना निर्माण भएर पनि सञ्चालनमा नआएर अलपत्र परेका भवन वरपरीको झाडी सफा गर्न प्रहरी, विभिन्न संघ संस्था, विद्यालयबाट मानिसहरू सरसफाइमा सहभागी भएका थिए । यसरी आएका मानिसहरूले गरिरहेको सरसफाइको दृश्यले यस क्षेत्रका जनतामा विश्वविद्यालय प्रतिको अपनत्व, विश्वविद्यालय सञ्चालनको चाहना समेत प्रतिबिम्बित हुन्थ्यो ।

सरसफाइमा सहभागी लोटस आई माविका प्रधानाध्यापक मान बहादुर ऐरले विश्वविद्यालय सरसफाइ गर्नु सबैको दायित्व भएको बताए । ‘यो हामीहरूको साझा सम्पत्ति हो । यसको हामीले संरक्षण गर्नुपर्छ’ उनले भने ‘विद्यार्थीलाई पनि आफ्ना सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने अनुभूति गराउन विद्यार्थी सहित सरसफाइमा सहभागी भएका हौ ।’ उनले विद्यालयबाट ११० जना विद्यार्थी सहभागी सहभागी भएको बताए । उनले आगामी दिनमा पनि यस्ता काममा आफूहरू सहभागी हुने बताए ।

attariya hospital

स्थानीय शारदा खत्रीले विश्वविद्यालय परिसर झाडीले कुरूप बनेपछि सरसफाइ कार्यक्रममा सहभागी भएको बताइन् । उनले स्थानीयले अपनत्वको भावनाले सरसफाइमा सहभागिता जनाए जसरी यसको सञ्चालनमा पनि स्थानीयको सहभागिता सुनिश्चितता गराउनु पर्ने बताइन् ।

navjiwan hospital

विश्वविद्यालय स्थापना सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले झाडीले विश्वविद्यालय नै कुरूप बनेको अवस्थामा विश्वविद्यालय खुला रूपमा गरेको आह्वान पछि आफूहरू सरसफाइ कार्यक्रममा सहभागी भएको बताए । उनले विश्वविद्यालय परिवारले जनसहभागितामा विश्वविद्यालयको सरसफाइका लागि गरेको आह्वान सराहनीय भएको बताए ।

विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशीले विश्वविद्यालय सुदूरपश्चिमकै सम्पत्ति भएको बताउँदै यसमा समुदायको जिम्मेवारी र सामुदायिक अपनत्वको भावना विकासमा सरसफाइ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस क्षेत्रका जनताको निकै दुःख गरेर यती ठुलो संरचना स्थापना गरिएको बताउँदै यस क्षेत्रका जनताले चाहेर नै हाल नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएको बताए । उनले यसको संरक्षणमा पनि यस क्षेत्रकै जनताको साथ आवश्यक हुने बताए ।

उनले विश्वविद्यालयले गरेको आह्वानमा २ हजार भन्दा बढी मानिस सहभागी भइदिएकोमा धन्यावाद ज्ञापन गरे । ‘विश्वविद्यालय परिसरमा फैलिएका झाडी, बुट्यान तथा अनावश्यक वनस्पति हटाई परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने कार्यमा यहाँको संस्था तथा संस्थामा आबद्ध सम्पूर्ण पदाधिकारी, सदस्य र स्वयंसेवकहरूले पु¥याउनुभएको महत्त्वपूर्ण सहयोगप्रति विश्वविद्यालय परिवार हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गर्दछ’ उनले भने ‘यहाँहरूको सक्रिय सहभागिताबाट विश्वविद्यालय परिसरको स्वच्छता र सौन्दर्यमा उल्लेखनीय सुधार हुनुका साथै कर्मचारी, सेवाग्राही तथा आगन्तुकहरूका लागि सुरक्षित र अनुकूल वातावरण निर्माण भएको छ ।’

उनले स्वास्थ्य शिक्षा र सार्वजनिक सेवाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको यस विश्वविद्यालयप्रति स्थानीयले देखाएको सद्भाव, सहयोग र अपनत्वले विश्वविद्यालय परिवारलाई थप उत्साहित र प्रेरित मिलेको बताए । उनले स्थानीयको योगदान सामाजिक सहकार्य, एकता र सामुदायिक सेवाको उत्कृष्ट उदाहरणका रूपमा रहने बताए । उनले आगामी दिनहरूमा पनि विश्वविद्यालयका शैक्षिक, स्वास्थ्यसम्बन्धी तथा सामाजिक गतिविधिहरूमा निरन्तर सहयोग, समन्वय र सद्भाव प्राप्त हुने अपेक्षा लिएको बताए ।