धनगढी – कैलालीमा करिब एक अर्बको काठ अवैध रूपमा कटान गरी बिक्री–वितरण गर्न खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।अख्तियारले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम र बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयको टोलीले ‘सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा अवैध तरिकाले काठ लिलाम बिक्री गर्न खोजिएको’ भन्ने उजुरीमाथि अनुसन्धान सुरु गर्दै कागजात नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार प्रदेशमा उच्चस्तरको राजनीतिक संरक्षणमा यो काम अघि बढाइएको सूचनापछि अनुसन्धान अगाडि बढाइएको हो ।


विभिन्न सामुदायिक वन, केही काठ व्यवसायी र वनका कर्मचारीहरूको मिलेमतोमा काठ तस्करी गर्न खोजिएको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको हो । अख्तियारका अनुसार कैलालीका झन्डै एक दर्जन सामुदायिक वनबाट एक लाख २३ हजार क्युबिक फिट काठ तस्करी गर्ने योजना बनाइएको थियो । त्यस्तै, पहलमानपुर क्षेत्रबाट दुई लाख २२ हजार क्युबिक फिट काठ निकाल्ने तयारी गरिएको थियो । दुवै डिभिजन वन कार्यालयअन्तर्गतका काठको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्ने अख्तियारको प्रारम्भिक अनुमान छ ।
अख्तियारका एक अनुसन्धान अधिकारीका अनुसार काठ तस्करीका लागि खडा भएका हरिया रुखमा किरा लागेको भन्दै काट्न मिल्ने भनी वन विशेषज्ञहरूबाट झुटो सिफारिस तयार पारिएको थियो । सग्ला खयरका रुख काट्न आवश्यक सबै कागजात तयार गरी लिलाम बिक्री प्रक्रिया सुरु गरिएको थियो ।
नेपाल वन पैदावार उद्योगी महासंघ तथा अन्य उद्योगीहरूलाई काठ कटानबारे कुनै सूचना नदिई सीमित व्यापारीहरूको संलग्नतामा उद्योगहरूको टेन्डर स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको थियो । त्यसको सूचना पाएपछि सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सांसदहरूले स्थलगत निरीक्षण गरेका थिए ।
उनीहरूले अवैध तथा अनियमित तरिकाले बिक्री गर्न लागिएको ठूलो परिमाणको काठमा अनियमितता भएको निष्कर्ष निकाल्दै छानबिन नसकिउन्जेल लिलाम बिक्री रोक्न निर्देशन दिएका थिए । तर पनि लिलाम सदर हुन बाँकी रहेका बेला अख्तियारले सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
















