अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालनमा नआउँदै जीर्ण बनेको कोल्ड स्टोर मर्मत गरिएको छ । करिब ८ वर्ष लगाएर निर्माण गरिएको कोल्ड स्टोर निर्माण पछि पनि सञ्चालन नआउँदा जीर्ण बनेपछि मर्मत गरिएको हो । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष विनियोजन गरेको ९ लाख रकमबाट कोल्ड स्टोर मर्मत गरिएको कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज जोशीले बताए । उनले परीक्षणका गर्ने क्रममा सोमबार जेनरेटरबाट कोल्ड स्टोर सञ्चालन गरिएको बताउँदै केही दिनमा विद्युत् मिटर जडान गरेर ३ महिना सम्म परीक्षणका रूपमा सञ्चालन गरिने बताए ।
उनले कोल्ड स्टोरका लागि छुटै ट्रान्सफर्मर जडान गरिएको भए पनि विद्युत् कार्यालयबाट मिटर प्राप्त गर्न ढिलाइ भएको बताए । उनले निर्माण पछि पनि धेरै समय कोल्ड स्टोर प्रयोगमा नआउँदा कोल्ड स्टोर चुहिने, स्ल्याव पनि जीर्ण अवस्थामा पुगेकाले मर्मत गरेर सञ्चालन योग्य बनाइएको बताए । ‘कोल्ड स्टोर जीर्ण बनेर चलाउन मिल्ने अवस्था थिएन’ उनले भने ‘कोल्ड स्टोर चुहिने, स्ल्याव पनि जीर्ण अवस्थामा थिए । बाँदरले मेसिनका तारमा पनि क्षति पुगाएका थिए । अहिले सबै मर्मत गरेर सञ्चालनमा ल्याउने अवस्थामा पुगेको छ ।’


उनले अझै पनि कोल्ड स्टोरको भुईँमा बिछ्याउने पिर्का राख्ने काम बाँकी रहेको बताए । भुईँमा पिर्का राख्ने, कोल्ड स्टोर बाहिर पनि मर्मत गरेर गाडी पार्कीङमा राख्न मिल्ने बनाउनका लागि अझै ३०/४० लाख बजेट आवश्यक पर्ने बताए । उनले आवश्यक बजेट कृषि विकास निर्देशनालय डोटीबाट उपलब्ध हुने आश्वासन पाएको बताए । उनले बाह्य काम सँगसँगै तीन महिना कोल्ड स्टोर परीक्षण गरेर कार्तिक महिना देखि सञ्चालनमा ल्याइने बताए ।
अत्तरियाको कृषि उपज थोक बजारमा २०७४ सालदेखि निर्माण सुरु गरिएको थियो । गोदावरी नगरपालिका – १ मा रहेको उक्त कोल्ड स्टोरको कृषि उपज थोक बजार समितिले ९ लाखको लागतमा फाउन्डेसन तयार पारेको थियो ।
पछि २०७५ सालमा संघीय, स्थानीय सरकार र कृषि उपज थोक बजार व्यवस्थापन समितिको लगानीमा कोल्ड स्टोरको ट्रस्ट निर्माण गरिएको थियो । त्यसपछि ७ वर्ष ट्रस्ट मै सीमित रहेको कोल्ड स्टोर सञ्चालनका लागि प्रदेश सरकारले ९२ लाख खर्चेर गरे पनि अझै काम बाँकी रहेको भन्दै अघिल्लो आर्थिक वर्षमा पनि ९ लाख बजेट विनियोजन गरिएको थियो । सोही रकमबाट हाल कोल्ड स्टोर मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको छ । ३२७ मेट्रिक टन क्षमताको कोल्ड स्टोर सञ्चालन हुँदा यस क्षेत्रका किसानले आफ्ना उपज सहज रूपमा राख्न पाउने छ ।














