अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको परिसर भोलि सरसफाइ गरिने भएको छ । विश्वविद्यालय स्थापनार्थ संघर्स समितिको आयोजनामा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

सघर्ष समितिका सह–संयोजक आनन्द भट्टले भोलि बुधवार बिहान साढे ७ बजे सरसफाइ कार्यक्रम राखिएको बताए । उनले सरसफाइ कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह समेत गरेका छन् ।

हिजो सोमबार मात्रै विश्वविद्यालयले सरसफाइका लागि सहयोग गरिदिन आह्वान गरेको थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाई सरसफाइ अभियानमा सहयोग गर्न सामाजिक सङ्घसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायहरूलाई आह्वान गरेका थिए ।
लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका कारण हाल विश्वविद्यालय परिसर हाल झाडीमा परिणत भएको छ । सरकारले असार ३१ गते उपकुलपति र रजिस्ट्रार नियुक्ति गरेपछि हाल विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । यसअघि गत वर्ष भदौ ५ गते संघर्ष समितिले साङ्केतिक विरोध स्वरूप विश्वविद्यालय परिसरमा झाडी सरसफाइ गरेको थियो ।


















