अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाई सरसफाइ अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायहरूलाई आह्वान गरेका छन् ।
विश्वविद्यालयले जारी गरेको अपिल आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्दै उनले वर्षायामका कारण परिसरभर झाडी, बुट्यान तथा वनस्पति अत्यधिक फैलिएको उल्लेख गर्दै यसले परिसरको स्वच्छता र सौन्दर्यमा असर पु¥याउनुका साथै कर्मचारी, सेवाग्राही र आगन्तुकको सुरक्षित आवतजावतमा समेत कठिनाइ उत्पन्न भएकाले सरसफाइमा सहयोग गरिदिन अपिल गरिएको छ । झाडीका कारण सर्प, किराफट्याङ्ग्रा तथा अन्य जीवजन्तुको जोखिम पनि बढ्न सक्ने विश्वविद्यालयले जनाएको छ ।


विश्वविद्यालय स्थापनाको प्रारम्भिक चरणमा रहेकाले सीमित बजेट र स्रोत–साधनका कारण सम्पूर्ण परिसरको झाडी कटान तथा सरसफाइ कार्य तत्काल आफ्नै स्रोतबाट सम्पन्न गर्न कठिन भएको जनाइएको छ । त्यसैले सामाजिक उत्तरदायित्व र सामुदायिक सेवाभावका आधारमा सबै सरोकारवालालाई सरसफाइ अभियानमा सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको हो ।
अपिलमा अभियानका लागि आवश्यक जनशक्ति परिचालन, श्रमदान, झाडी काट्ने उपकरण, सुरक्षा सामग्री, फोहोर व्यवस्थापन तथा अन्य सम्भावित सहयोग उपलब्ध गराई विश्वविद्यालय परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन योगदान दिन अनुरोध गरिएको छ । इच्छुक संघसंस्थाले विश्वविद्यालय प्रशासनसँग समन्वय गरी उपयुक्त मिति र कार्ययोजना तय गर्न सक्ने पनि उल्लेख गरिएको छ ।
उपकुलपति जोशीले स्वास्थ्य विज्ञान शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको विश्वविद्यालयको वातावरण सुधारमा सबै पक्षको सहयोग अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै सकारात्मक सहभागिताका लागि अग्रिम धन्यवादसमेत ज्ञापन गरेका छन् ।
लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेका कारण हाल विश्वविद्यालय परिसर झाडीमा परिणत भएको छ । यसअघि गत वर्ष भदै ५ गते स्थानीयले सांकेतिक विरोध स्वरुप विश्वविद्यालय परिसरमा सरसफाइ गरेका थिए ।


















