खाेज्नुहाेस

सुदूरपश्चिममा बढे सवारी दुर्घटना, २०५ जनाको मृत्यु

Image

अत्तरिया – सुदूरपश्चिममा पछिल्लो ३ वर्षको तुलनामा सवारी दुर्घटना र मृत्यु हुनेको संख्या बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै १ हजार ४७३ सवारी दुर्घटनामा २०५ जनाले ज्यान गुमाएका छन । उक्त दुर्घटनामा २ हजार ५४३ जना घाइते भएका छन । जुन अघिल्ला २ आर्थिक वर्षको तुलनामा बढी हो ।

आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २०३ सवारी दुर्घटनामा १९२ जनाले ज्यान गुमाएका थिए भने २ हजार ४ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ३०९ सवारी दुर्घटनामा १७२ जनाको मृत्यु भएको थियो भने ५३६ जना घाइते भएका थिए ।

attariya hospital
navjiwan hospital

आर्थिक वर्ष २०८२/०८३ मा सवारी कारवाही र राजश्व संकलनमा पनि कमी आएको छ । सो अवधिमा ३९ हजार २१२ सवारी साधन कारवाहीमा ३ करोड १८ लाख ८५ हजार ५ सय राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ६१ हजार ५७६ सवारी साधन कारवाहीमा ४ करोड ४१ लाख ५९ हजार राजश्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ४७९ सवारी साधन कारवाहीमा ४ करोड ८९ लाख ८७ हजार राजश्व संकलन भएको ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि मापसे चेकजाँचलाई प्राथमिकता दिदै आएको छ । यद्दपी पछिल्लो आर्थिक वर्षमा मापसे कारवाही संख्या घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ९१८ मापसे कारवाही भएकोमा ३९ लाख १८ हजार राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा मापसे कारवाही बढेर ४ हजार ९३१ कारवाही भएपनि राजश्व ३६ लाख ५६ हजार ५ सय राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०८२/०८३ मापसे कारवाही संख्या घटेर ३ हजार ६४१ पुगेको छ भने राजश्व पनि घटेर १९ लाख ७९ हजार मात्रै पुगेको छ । आर्थिक वर्ष २०८२/०८३ मा ५६ जना लापसे कारवाहीमा पनि परेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले ट्राफिक सचेतनाका लागि जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार २०६ वटा ट्राफिक जनचेतनाका कार्यक्रम संचालन गरिएका छन । जसबाट १ लाख९४ हजार ३९७ जना लाभान्वित भएको ट्राफिक प्रहरीले जनाएको छ ।