अत्तरिया – कैलाली प्रहरीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार धनगढी उपमहानगरपालिका–४ बसपार्क स्थित एक व्यक्तिको घरमा फ्ल्याट भाडामा लिएर व्यवस्थित रूपमा सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापामारीका क्रममा उक्त कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका बनबेहडाका ३४ वर्षीय प्रेमबहादुर साउँद, उदयपुर त्रियुगा नगरपालिका–१२ का ३४ वर्षीय दिपिन मगर, भारतको दिल्लीका ३६ वर्षीय रवि कुमार सुर्यबंशी, भारत हरियाणा सोनिपडाका ३७ वर्षीय दीपकुमार जाट, चितवन भरतपुर महानगरपालिका–१ का ३७ वर्षीय जितेन्द्र कट्टले रहेका छन ।

यस्तै ललितपुर महालक्ष्मी नगरपालिका–८ सम्भुचौरका ४५ वर्षीय राजकुमार मोक्तान, काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका – ९ निलगिरीका ४५ वर्षीय राजन चुडाल, भापा दमक नगरपालिका –१ का ४६ वर्षीय हरि प्रसाद चापागाईं र धनगढी उपमहानगरपालिका–३ भन्सारका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश सिह बिष्टले बताए ।
प्रहरीले पक्राउ परेका सबैमाथि नेपाल राष्ट्र बैंक ऐन तथा प्रचलित कानुनबमोजिम अभौतिक मुद्रा कारोबार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।


















