खाेज्नुहाेस

सुदूरपश्चिमका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Image

धनगढी – सुदूरपश्चिम क्षेत्रमा आइतवार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । कैलाली कञ्चनपुरका केही ठाउँहरूमा भारी वर्षाको समेत सम्भावना रहेकाले सम्पूर्ण सर्वसाधारण तथा तटीय क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन स्थानीय प्रशासन र मौसमविदले आग्रह गरेका छन् । गत २४ घण्टाको मौसमी रेकर्ड अनुसार कञ्चनपुरको बेलौरीस्थित शान्तिपुर क्षेत्रमा सबैभन्दा बढी ७८ मिलिमिटर पानी परेको छ भने सोही जिल्लाको कृष्णपुर नगरपालिका क्षेत्रमा सबैभन्दा कम ८.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

आइतबार सुदूरपश्चिमको तराई र पहाडी दुवै भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले यात्रामा निस्किने मानिसहरूलाई विशेष सावधानी अपनाउन मौसमविद डेभिड ढकालले सुझाव दिए । उनले लामो वा छोटो दूरीको यात्रामा निस्किनुअघि अनिवार्य रूपमा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र घरबाट बाहिर निस्किन सर्वसाधारणमा आग्रह गरे । वर्षातका कारण खास गरेर तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका नदी तथा खोलाका तटीय क्षेत्रहरू र होचो भूभाग रहेका ठाउँहरूमा डुबानको उच्च जोखिम देखिएको छ ।

attariya hospital
navjiwan hospital

कैलालीका प्रमुख नदीहरू मोहना, खुटिया, कान्द्रा, काँडा र कर्णाली लगायतका नदीमा जलस्तर बढ्न सक्ने र त्यसले तटीय क्षेत्रका बस्तीहरूलाई प्रत्यक्ष प्रभावित पार्ने सम्भावना रहेकोले सचेत समयमै सुरक्षित स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

नदीको किनार र होचो भूभागमा बसेका बासिन्दाहरूलाई समयमै सुरक्षित स्थानमा सर्न र सचेत रहन स्थानीय प्रशासनले सार्वजनिक आह्वान समेत गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाढी र डुबानको अवस्थालाई मध्यनजर गर्दै नागरिकहरूलाई आफ्ना सन्ततिको सुरक्षामा विशेष ध्यान दिन अपिल गरेका छन । उनले बाढी आएको समयमा साना नानीबाबुहरू तथा छोराछोरीहरूलाई बाढी प्रभावित क्षेत्रमा पौडी खेल्न जान नदिनका लागि अभिभावकहरूलाई सचेत गराएका छन ।

विगतका वर्षहरूमा वर्षातको समयमा नदीमा आउने बाढीसँगै बगाएर ल्याउने दाउरा निकाल्न सर्वसाधारणहरू नदीमा पस्ने गरेको र त्यसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थलाई स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यसपटक दाउरा निकाल्ने बहानामा नदीमा जोखिमपूर्ण कार्य नगर्न अनुरोध गरेका छ । यसका साथै, बैशाख र जेठको गर्मी मौसममा घर लिपपोत गर्नका लागि गाउँघरमा माटो खनिएका पुराना ढिस्कोहरू वर्षाको पानीका कारण गलेर अचानक भत्किन सक्ने भएकाले त्यस्ता असुरक्षित ठाउँहरूबाट माटो निकाल्न नजान समेत स्थानीयबासीलाई सचेत गराइएको छ ।

स्थानीय प्रशासनले कहिँ कतै अचानक डुबान भएमा वा नदीको बहाव बढेर बस्तीमा पानी पस्ने जोखिम देखिएमा, अथवा कुनै पनि प्रकारको आपतकालीन अवस्था सिर्जना भएमा तुरुन्तै ढिलो नगरी नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा स्थानीय जनप्रतिनिधिलाई सम्पर्क गरी सुरक्षित हुन अपिल गरेको छ ।