धनगढी – देशभरका ६ वटै प्रदेशमा एमबिबिएस पठनपाठन हुने गरेको भएपनि सुदूरपश्चिममै एमबिबिएस पढ्ने सपना भने अझै पुरा भएको छैन । कैलालीको गेटामा एमबिबिएस लगायत चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने योजना सहित करिब ६ अर्ब ६४ करोडको लगानीमा आधुनिक भवन बनेपनि वर्षै देखि अलपत्र हुँदा यस क्षेत्रका जनताको आशा निरासामा परिणत हुँदै गएको थियो । तर, पछिल्लो समय सरकारले यसलाई प्राथमिकता दिएर दु्रत गतिमा काम हुन थालेपछि भने गेटामा यस क्षेत्रका जनताको स्वास्थ्य शिक्षा पढ्न पाउने सपना पुरा हुने आशा जागेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिइसकिएको छ भने विश्वविद्यालयका लागि आवश्यक २ खर्ब ५३ करोड बजेट व्यवस्थापन गरिसकिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तुल्सी देवकोटाले लामो समयको प्रतीक्षापछि पठनपाठनको आधार बन्दै गएकाले शिक्षण अस्पताल सञ्चालनको आशा जागेको बताइन् । उनले भनीन ‘अब काम हुने आशा जागेको छ । सुदूरपश्चिमेली जनताको तीन दशक लामो सपना साकार हुने चरणमा छ । यहाँबाट दक्ष जनशक्ति उत्पादन हुन थालेको दिन सुदूरपश्चिमका कैयन् पुस्ताले देखेको सपना साकार हुनेछ ।’

विश्वविद्यालयको माग गर्दै भइरहेको सङ्घर्षका नेतृत्वकर्ता लोकराज पाण्डेले विशेषज्ञ स्वास्थ्य सेवा र त्यो सेवा प्रदान गर्ने चिकित्सकहरु यहीबाट उत्पादन भएको दिन मात्रै आफूहरुको जित हुने बताए । ‘प्रारम्भिक चरणका काम भएका छन् । हाम्रो मुख्य मागका रुपमा रहेको अध्ययन अध्यापन सुरु हुन बाँकी छ । यद्यपि, सरकारले त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । हामी आशावादी छौँ’ उनले भने ।
वर्षौंअघिको सपना साकार हुन लागेकामा अत्तरियाका भीम विश्वकर्मा पनि निकै खुसी छन् । उनले भने ‘हाम्रो पुस्ताको समय राम्रो अस्पतालको माग गर्दै बित्यो । छोरा पुस्ताको समय त्यसको आशमै । बल्ल नाति पुस्ताले विश्वविद्यालयको आँगन टेक्ने आशा जागेको छ ।’ कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा आनन्दबहादुर चन्दले वर्तमान सरकारले गेटा विश्वविद्यालय सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सोहीअनुसार हरेक निर्णय प्रक्रिया धमाधम भइरहेका बताए ।

गेटामा आर्थिक वर्ष २०७०/७१ बाट गेटामा भौतिक संरचना निर्माण सुरु भएका हाल ५१ हेक्टर क्षेत्रफलमा ६ सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक अधिकांश पूर्वाधार तयार छन् ।
संरचना निर्माण भएपछि पनि कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान, त कहिले विश्वविद्यालय बनाउने विषयमा विवाद भएपनि अन्ततःसरकारले विसं २०७९ माघमा सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । हालको सरकारले मन्त्रिपरिषद् बैठकबाट शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिएसँगै विश्वविद्यालय सञ्चालनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले प्राडा सुनिलकुमार जोशीलाई उपकुलपति र डा भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेको छ । अब विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने जिम्मेवारी उनीहरूको काँधमा आएको छ ।
उपकुलपति प्राडा जोशी विश्वविद्यालय उन्नयन, शैक्षिक कार्यक्रम सञ्चालन र अस्पतालको स्तरोन्नतिमा ध्यान केन्द्रित गरिने बताए । यसअघि आफू विश्वविद्यालयको संस्थापक उपकुलपतिको जिम्मेवारीमा रहँदा पठनपाठनका लागि आवश्यक जनशक्ति, पाठ्यक्रम र आवश्यक स्रोतसाधनबारे एकतहको तयारी गरिएको र अब त्यही बिन्दुबाट काम गर्ने अवस्था बने चाँडै प्रतिफल देखिने उनको भनाइ छ ।
‘यो विश्वविद्यालय सुदूरपश्चिमको मात्रै होइन, समग्र देशकै राष्ट्रिय गौरवको विषय हो। त्यसैले मेरो नेतृत्वको सम्पूर्ण ध्यान यसको विश्वास र ख्याति स्थापित गर्नेमा हुन्छ । त्यसका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ । तीनै तहका सरकार र नागरिक तहबाट पनि सकारात्मक सहयोग रहनेमा हामी विश्वस्त छौँ’ उपकुलपति प्राडा जोशीले भने ।
पहिलो शैक्षिक सत्रदेखि एमबीबीएस (५० जना), बीएस्सी नर्सिङ (३० जना), बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी–२० जना) र बी अप्टोमेट्री (२० जना) सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चितसमेत भइसकेको रजिष्ट्रार डा चन्दले जानकारी दिए ।
उनले भने ‘हाम्रो लक्ष्य विश्वविद्यालय खोल्ने मात्र होइन, सुदूरपश्चिमलाई चिकित्सा शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको केन्द्र बनाउने हो। आगामी चार वर्षभित्र स्नातक तहमा कम्तीमा १३ वटा कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि एमडी÷एमएस तथा अन्य स्नातकोत्तर तहका कार्यक्रम विस्तार गर्ने योजना छ । अस्पताललाई पनि क्रमशः तीन सय शय्याबाट सातदेखि आठ सय शय्यासम्म विस्तार गरिनेछ ।’


















