खाेज्नुहाेस

सामान्य वर्षामै पाँच करोडको तटबन्धमा क्षति

Image

कञ्चनपुर – महाकाली र जोगबुडा नदी किनारमा तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका १० कुतियाकभरका बासिन्दाले विगत भन्दा केही राहत हुने आश गरेका थिए । तर महाकालीमा बाढी नआउँदै असार दोस्रो साताको वर्षाले तटबन्ध भत्काउँदा फेरि चिन्ता सुरु भएको छ । बस्तीमै जम्मा भएको पानीले तटबन्ध भत्काएको हो । उक्त क्षेत्रमा गत वर्ष ५ करोड बढीको लगानीमा झोलुंगे पुल हुँदै जिरो पोइन्टसम्म ७ सय मिटर तटबन्ध निर्माण गरिएको थियो । उक्त तटबन्ध बनेपछि स्थानीयले केही राहत महशुष गरेका थिए । अहिले अस्थायी रोकथामका लागि उक्त क्षेत्रमा प्लाष्टिकका बोरा भरेर भत्केको ठाउँमा पुरिँदैछ । गाउँका बृद्धबृद्धादेखि युवा युवाती सँगै नगरपालिका, नेपाली सेना, प्रहरी, स्थानीय र गैरसरकारी संस्थाहरु सहकार्यमा अस्थायी रोकथामको काम भइरहेको हो ।

अहिले महाकाली किनारमा सबै जना प्लाष्टिकको बोरामा माटो भर्नेदेखि खाल्डो पुर्नेलगायतका काममा व्यस्त छन् । करिब आधा जति भरानको काम सकिएको छ । तर जिरो पोइन्टमा तटबन्ध भत्किसकेकाले महाकालीमा ठूलो बाढी आएमा बगाउने जोखिम भने उच्च रहेको छ । त्यसपछि फेरि कटान बढ्दै जाने देखिन्छ । ‘अहिले पक्की तटबन्धको सुरक्षासँगै कटान रोकथामका लागि अस्थायी काम गरिरहेका छौं,’ प्लाष्टिकका बोरामा माटो भर्दै गरेका वडा १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले भने, ‘अहिले तत्काल केही गर्न सकिने अवस्था पनि छैन ।’ जोगबुडा र महाकालीमा पानी बढी भएकाले ढुंगालगायत अन्य निर्माण सामग्री ल्याउन सकिने अवस्था नभएकाले काम चलाउ रुपमा काम गर्नुपर्ने बाध्यता आएको हो ।

attariya hospital
navjiwan hospital

अध्यक्ष सिंहका अनुसार बस्ती किनारमा तटबन्ध निर्माण गर्दा बस्तीका पानीको निकास दिनुपर्ने आवश्यक थियो । तर त्यतिबेला निकास नदिएका कारण अहिले सामान्य वर्षामा तटबन्ध भत्कियो । एकातिर जोगबुढा नदी, अर्कोतिर महाकाली र दुवै नदी मिल्ने ठाउँमै कुतियाकवरको बस्ती छ । यही भएर उक्त क्षेत्र कटान र डुबानको उच्च जोखिममा रहेको छ । महाकालीको बाढीले जोगबुडाको बहाव रोकिने र जोगबुडा नदी पूरै बस्तीमा पस्ने भएकाले पनि उक्त क्षेत्रमा वर्षेनी डुबान हुने गरेको छ ।

४२ परिवारको बसोबास रहेको उक्त क्षेत्रमा बाढी पसेमा भाग्ने ठाउँ समेत रहेको छैन तटबन्धमा क्षति पुगेपछि दोधाराचाँदनी नगरपालिकाले तत्कालका लागि ग्याबिन ब्याग, बालुवाका कट्टा र माटो प्रयोग गरेर भरान गरिरहेको हो । नगर प्रमुख किशोरकुमार लिम्बूका अनुसार थप कटान हुन नदिन तत्काल आपत्कालीन मर्मत गरिएको हो । उनले स्थानीयवासीको श्रमदानमा क्षतिग्रस्त भागलाई अस्थायी रूपमा सुरक्षित बनाइएको जानकारी दिए ।

महाकाली र जगबुडा नदीको सङ्गम क्षेत्र नजिक रहेको कुतियाकभर भौगोलिक रूपमा अत्यन्त संवेदनशील बस्ती हो । नदीले धार परिवर्तन गरेपछि यो क्षेत्र टापुजस्तै बनेको छ । वर्षायाममा नदीको बहाव बढ्दा मुख्य भूभागसँगको सम्पर्क प्रभावित हुने, खेतीयोग्य जमिन कटान हुने र बस्ती नै डुबानको जोखिममा पर्ने समस्या यहाँका बासिन्दाले वर्षौँदेखि भोग्दै आएका छन् । मनसुन अझै प्रारम्भिक चरणमै छ । यसैले कुतियाकवरका बासिन्दाको चिन्ता झन् बढेको छ ।