अत्तरिया – धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी बनाउने निर्णयविरुद्ध दायर भएका रिट खारेज गरिएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठसहित नौ जनाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

प्रदेशसभाले २०७५ असोज १२ गते गोदावरी नगरपालिका – २ र ४ मा प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्द २०७५ असोज र मंसिरमा दुई छुट्टाछुट्टै रिट दायर भएका थिए ।

मंसिरमा अधिवक्ता मनिषकुमार श्रेष्ठसहित नौ जनाले दायर गरेको रिटमा प्रदेशको भौगोलिक अवस्था, जनआकांक्षा, पूर्वाधार, वातावरणीय प्रभाव तथा उपयुक्तताको अध्ययनबिनै राजधानी तोकिएको भन्दै निर्णय कार्यान्वयन रोक्न परमादेश माग गरिएको थियो ।
त्यसअघि अधिवक्ता देवीकुमारी जोशीले पनि अन्तर्राष्ट्रिय महत्वको जैविक मार्ग र चुरे–भावर क्षेत्रको वन विनाश हुने भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले दुवै रिट खारेज गरिदिएको हो । सर्वोच्चको फैसलासँगै राजधानी निर्माणको कानुनी अवरोध हटेको छ ।

















