खाेज्नुहाेस

दिपायल सिलगढी नगरपालिकाद्धारा ज्यो.पं. गणेश पन्त सम्मानित

Image

डोटी – वैदिक सनातन धर्मको संरक्षण, धार्मिक तथा सांस्कृतिक जागरण, सामाजिक समावेशिता र समाजसेवामा पु¥याएको योगदानको कदर गर्दै दिपायल सिलगढी नगरपालिकाले ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारलाई सम्मान–पत्र प्रदान गरेको छ ।

मंगलबार दिपायल सिलगढी नगरपालिकाल प्रदान गरेको सम्मान–पत्रमा पन्तले दलित समुदायका लागि जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने वैदिक हिन्दु सनातन धर्मसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक संस्कारहरूको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएको उल्लेख गरिएको छ । साथै, समतामूलक समाज निर्माण, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सेवाभावका क्षेत्रमा उनले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ ।

attariya hospital
navjiwan hospital

नगर प्रमुख बाजी सिंह खड्का, नगर उपप्रमुख कलावती महर साउँद, प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी तथा शाखा अधिकृत शंकर सुचिकारको हस्ताक्षर रहेको सम्मान–पत्रमार्फत पन्तको योगदानको प्रशंसा गरिएको छ । सम्मान–पत्रमा उनले आगामी दिनमा पनि सामाजिक समानता, सद्भाव तथा समावेशी समाज निर्माणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

सम्मान ग्रहणपछि ज्यो.पं. गणेश प्रसाद पन्त पञ्चाङ्गकारले दिपायल सिलगढी नगरपालिका परिवार, नगर प्रमुख, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे । उनले प्राप्त सम्मान आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको उल्लेख गर्दै यसले समाज, धर्म, संस्कृति र मानव सेवामा अझ बढी जिम्मेवारीका साथ समर्पित भएर अघि बढ्ने प्रेरणा दिएको बताए । साथै, यो सम्मान आफ्नो मात्र नभई आफूलाई निरन्तर साथ, सहयोग र प्रेरणा प्रदान गर्ने गुरुजन, परिवार, शुभेच्छुक तथा सहयोगी सबैको भएको उल्लेख गरेका छन ।

पन्तले आगामी दिनहरूमा पनि वैदिक संस्कारको संरक्षण, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, समावेशी समाज निर्माण तथा मानव सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन ।