बैतडी – बैतडीको सुर्नया गाउँपालिका–५ हरिचनमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुगेको छ । मंगलबार साँझ बर्षासँगै आएको हावाहुरीले हरिचनको गाड भन्ने टोलमा मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय दिपेन्द्रबहादुर मडैले बताए ।

बर्षासँगै आएको हावाहुरीले खेतमा लगाएको मकै ढलेर नष्ट भएको उनले बताए । भर्खर घोगा लाग्न थालेका मकैमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन् ।
जंगली जनावरबाट मकैबाली जोगाउन धौ–धौ परिरहेका बेला बर्षा र हावाहुरीले थप क्षति पुर्याएको स्थानीय अमरसिंह मडैले बताए । बर्षा र हावाहुरीले मकैबालीमा व्यापक क्षति पुर्याएको उनले बताए ।

मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा क्षति भएपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले सताएको छ ।
बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको भएपनि पछिल्ला बर्षहरुमा मकैखेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ ।



















