अत्तरिया – लामो समय लथालिङ्ग रहेको अत्तरिया उद्योग वाणिज्य संघ लयमा फर्किने सङ्केत देखिएको छ । विभिन्न उतारचढावका बिच विगत अढाई वर्ष देखि लथालिङ्ग रहेको अत्तरिया उद्योग वाणिज्य संघ लयमा फर्किने सङ्केत देखिएको हो । २०८० साल पुस २६ गते अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि समिति लथालिङ्ग बनेको थियो ।
नक्कली टिकट ठेलीको प्रकरण सिडिओ कार्यालय देखि अदालत सम्म पुगेको थियो भने विवाद चुलिँदै जाँदा समितिका १० जनाले राजीनामा दिएका थिए । त्यसपछि निष्कृय बनेको समितिलाई कसरी पुनर्जीवित गरेर लयमा ल्याउने भन्ने मुख्य चुनौती रहेका बेला यही जेठ २३ गते बसेको व्यवसायीहरूको भेलाले साधारण सभा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार असार १५ गते सम्म सदस्यता नवीकरण गर्ने समय पनि तोकिएको थियो ।


लामो समय देखि लथालिङ्ग रहेको अत्तरिया उद्योग वाणिज्य संघलाई पुनः चलायमान बनाउनका लागि नवीकरण अवधिमा व्यवसायीहरू उत्साहित देखिएपछि संघ पुन लयमा फर्किने आशामा स्वयम व्यवसायी छन् ।

अत्तरियाका व्यवसायी पूर्ण प्रसाद चौलागाईले हाल सम्म अत्तरिया उद्योग वाणिज्य संघमा जे जस्तो भए पनि आगामी दिनमा यसलाई शुद्ध व्यवसायीले सञ्चालन गरुन् भन्ने अपेक्षाका साथ सदस्यता नवीकरण गराएको बताए ।
‘अबको नेतृत्व शुद्ध व्यापारी भएर आउनुपर्छ । व्यवसायीको पीडा मर्का बुझ्ने व्यक्ति आउनुप¥यो’ उनले भने ‘व्यापारीका कुरा कसैले सुन्दैन चुनावका बेला व्यापारी चाहियो त्यति बेला मात्रै सम्झिने प्रवृत्ति चलेको थियो । अब यस्तो नहोस् भन्ने हाम्रो चाहना छ ।’ उनले आफूहरूको संस्था उद्योग वाणिज्य संघको के काम छ भन्ने आवाज उठ्न थालेको अवस्थामा अब यसलाई लयमा ल्याउने व्यक्ति नेतृत्वमा आउनु पर्ने बताए ।
व्यवसायी दीपक न्यौपानेले विगतको समिति अन्योलमै चलेकाले अब त्यसो नहोस् भन्ने आफूहरूको अपेक्षा रहेको बताए । ‘अहिले उद्योग वाणिज्य संघको काम के हो ? कर्तव्य के हो भन्ने कुरा उठ्ने गरेका छन्’ उनले भने ‘अब यसलाई राजनीति गर्ने थलो बनाउनु भएन । यो राजनीति गर्ने थलो होइन । व्यवसायीका पिर मर्का बुझ्ने थलो बनाउनुपर्छ ।’ उनले व्यवसायीका धेरै समस्या भएकाले ती समस्या बुझ्ने व्यक्ति नेतृत्वमा आउनु पर्ने बताए ।
अत्तरिया उद्योग वाणिज्य संघको ३ वर्ष अघि भएको निर्वाचनमा अध्यक्षमा कल्याण बोहरा निर्वाचित भएका थिए । २०८० असारमा भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका बोहराले आफ्नो कार्यकाल पुरा गरेपछि सोही वर्षको पुसमा आयोजना गरिएको महोत्सवको नक्कली टिकट ठेली प्रकरणले उनको कार्यकाल विवादित बन्न पुगेको थियो ।
विवादकै बिच २०८१ मंसिरमा ३ उपाध्यक्ष सहित महासचिव, कोषाध्यक्ष सहित १० जनाले राजीनामा दिए पनि भने समिति नाम मात्रैको बाँकी रहेको थियो । अत्तरिया उद्योग वाणिज्य संघको असार २७ गते साधारण सभा हुँदैछ भने असार २८ मा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने कार्यसूचि रहेको छ ।
















