अत्तरिया – धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित गोदावरी क्षेत्रमा खानेपानीको सङ्कट चुलिँदै गएको छ । सुख्खा मौसममा पानीका श्रोत सुक्दै गएपछि अहिले गोदावरी क्षेत्रमा बसोबास गर्ने, व्यवसाय गर्नेहरूले पानीको सङ्कटको सामना गर्नु परिरहेको छ । चुरे फेदमा रहेको सो क्षेत्रमा विगतमा मूलको पानी प्रयोग गरिँदै आएको भए पनि हाल सबैजसो मूल सुक्न थालेपछि खानेपानीको सङ्कट चुलिएको स्थानीय गणेश दत्त पाण्डेले बताए । उनले विगत १४/१५ वर्ष देखि नै खानेपानीका मूल घट्दै गएको भए पनि हाल आएर सङ्कट झनै बढेको बताए । उनले ठाउँ ठाउँमा रहेका पानीका मूल सुक्न थालेपछि खानेपानीको समस्या समाधानका लागि डिप बोरिङ गरिएको भए पनि त्यो पनि ७÷८ महिनामै बन्द भएको बताए ।
‘डिप बोरिङ गरेर निकालिएको पानी गोदावरीको काठे पुल नजिकै रहेको ट्याङ्कीमा जम्मा गरेर हामीले ७/८ महिना पानी खाएका थियौ । प्राविधिकले डिप बोरिङ हालेको ठाउँमा पानीको सतह गयो भनेपछि हामीले यसमा राखिएको मोटर पनि निकालिसकेका छौ’ गोदावरी बजार खानेपानी तथा सरसफाइ संस्थाका सचिव समेत रहेका उनले भने ‘अहिले पानीको निकै सङ्कट छ । यसको कसरी समाधान गर्ने भन्नेमा हामी चिन्तामा छौ ।’ उनले हाल खानेपानीको समस्या समाधानका लागि गोदावरी नदीको पानी सम्प वेल गरेर निकाल्नका लागि काम भइरहेको बताए । उनले सम्प वेल योजना सफल भएमा खानेपानीको समस्या समाधान हुने आशा रहेको बताए ।


गोदावरीका होटल व्यवसायी सुदिप पौडेलले २ महिना देखि धारामा पानी नआएको बताए । ‘डिप बोरिङ असफल भएपछि धारामा पानी आएको छैन । इनार (सम्प वेल) खनेर पानी निकाल्ने योजना पनि एक महिना देखि अलपत्र छ’ उनले भने ‘अहिले गोदावरी नदीबाट पानी बोकेर खानुपरिरहेको छ । कसै कसैले नदीमा मोटर राखेर पनि व्यक्तिगत रूपमा पानी ल्याएका छन् ।’ उनले नदीमा राखेको मोटर कति बेला बाढीले बगाउँछ भन्ने चिन्ता हुने बताए ।
उनले पर्यटकीय क्षेत्र भने पनि पानीका लागि वास्ता नगरिएको बताए । ‘यसलाई पर्यटकीय क्षेत्र भनिएको छ । घुम्नलाई मानिसहरू पनि आइरहेका हुन्छन् । तर पानी खान पाइँदैन’ उनले भने ‘पिकनिक खान आउनेले पनि मिनिरल वाटर ल्याएर आउनु पर्ने बाध्यता छ ।’
गोदावरी बजार खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष हर्क बहादुर देउवाले विगतमा मूल/मुहानको पानी खाने गरेको भए पनि त्यसमा पटक पटक समस्या आउन थालेपछि धनगढीको डिभिजन खानेपानी कार्यालयबाट बोरिङ गरिएको बताए । ‘बोरिङबाट पानी निकालेपछि हामीले मिटर सिस्टममा ५०/५५ घरमा धारा पनि जडान गरेका थियौ’ उनले भने ‘ बोरमा समस्या आएपछि हामीले सम्प वेल गरेर पानी ल्याउने प्रयास गरेका थियौ । त्यसमा पनि विद्युत् भोल्टेजको समस्या आएपछि सञ्चालन आउन सकेको छैन ।’
उनले हाल सङ्घीय सरकारको २० लाखको लगानीमा सम्प वेल निर्माणाधीन अवस्थामा रहेको बताउँदै योजना सफल भएमा उक्त पानी ट्याङ्कीमा जम्मा गरेर वितरण गरिने बताए । उनले ३ फेजको लाइन जोडेपछि राहत हुने अपेक्षा लिएको बताए । उनले खानेपानी संस्थाले गोदावरी क्षेत्रका साढे ४ सय घरधुरीलाई पानी पुगाउने लक्ष्य राखिएको बताए । उनले गोदावरी नगरपालिकाको सुगम ठाउँ भए पनि हाल पहाडको जस्तो पानी बोकेर खानुपर्ने अवस्था आएको बताए । उनले हाल गोदावरीको खोलाको किनारमा रसाएर आएको पानी खाने गरेको बताए ।
















