अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एक महिनाकै अवधिमा ६२ वटा लागू औषधका मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार जेठ महिनामा मात्रै सो सङ्ख्यामा लागू औषधका मुद्दा दर्ता भएका हुन । उक्त मुद्दामा संलग्न १०८ पुरुष र ७ महिला गरी ११५ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्टले बताएका छन् । उनका अनुसार पक्राउ परेकाहरूबाट ४५३ ग्राम १५६ मिलिग्राम चरेस, २६८ ग्राम १८३ मिलिग्राम खैरो हिरोइन, २३० ग्राम गाँजा, १७१ ट्याब्लेट, ४२ एम्पुल बरामद गरिएको छ ।
प्रदेश कार्यालयको प्रगति विवरणमा एक महिनामा अपराध दर्ता सम्बन्धीका ३५७ मुद्दा दर्ता भएका छन् । जसमा ज्यान सम्बन्धीका ६९, आत्महत्याका ६३, चोरी सम्बन्धीका १०, सङ्गठित तथा आर्थिक अपराधका ८३, सामाजिक अपराधका ५०, महिला तथा बालबालिका सम्बन्धीका अपराधका ४१, सवारी ज्यान सम्बन्धीका १३ र अन्य ३८ रहेका छन् । प्रहरीले ३५७ मुद्दा दर्ता हुँदा ३५५ जना पक्राउ गरिएको र ९९ जना पक्राउ गर्न बाँकी रहेको जनाएको छ ।

प्रहरीको एक महिनाको तथ्याङ्कमा आत्महत्याको अवस्था पनि भयावह देखिएको छ । ६७ जनाले आत्महत्या गरेकोमा २९ पुरुष ३३ महिला एक बालक र ४ बालिका रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विष्टले बताए ।

उनका अनुसार आत्महत्या गर्नेमा १० देखि २० वर्ष उमेर समूहका १५, २१ देखि ३० वर्ष उमेर समूहका २५, ३१ देखि ४० वर्ष उमेर समूहका ९, ४१ देखि ५० वर्ष उमेर समूहका ७ र ५० देखि माथिका ११ जना रहेका छन् । प्रहरीले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याङ्कमा ५८ जनाले आत्महत्या गरेका थिए ।
प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विष्टले २८ हजार ६० वटा प्रहरी परिचालनका गतिविधि भएको बताए । जसमा पिकेट ८ हजार ७५१, चेकिङ ४ हजार, ६७, ग्रामीण गस्ती ६ हजार १७७, एआरपी ३१ र एसआरपी ९ हजार ३४ रहेका छन् । सो क्रममा प्रहरीले १ करोड ४४ लाख ६१ हजार ५५५ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जनाएको छ ।
दैनिक एक सय सवारी माथि कारबाही
प्रदेशमा दैनिक औसतमा एक सय सवारी साधन माथि कारबाही गर्ने गरिएको छ । जेठ महिनाको सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा ३ हजार १९५ सवारी साधनमाथि कारबाही भएको छ । जुन औसतमा दैनिक एक सय भन्दा बढी हो । सो सङ्ख्यामा गरिएको सवारी साधन कारबाहीबाट २७ लाख ७९ हजार राजश्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता पदम बहादुर विष्टले बताए ।
उक्त तथ्याङ्क अनुसार प्रदेशमा एक महिनाको अवधिमा १६१ सवारी साधन दुर्घटना भएका छन् । जसमा २३३ सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २७९ जना घाइते भएका छन् ।

















