कञ्चनपुर – नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३÷११ केभी, ६÷८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार उक्त सबस्टेशन निर्माणका लागि यसअघि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल कार्यबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

यस क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याका कारण स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको पनि श्रेष्ठले बताए ।

सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणको विभिन्न कार्यालयमा रहेका ६÷८ एमभिए क्षमताको ट्रान्सफर्मरसहित आवश्यक उपकरणको उपयोग गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेशन सञ्चालनमा ल्याएको हो ।
अब बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक सबस्टेशनबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । प्राधिकरणले सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ ।



















