कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

सोमबार साँझ लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ निवासी २३ वर्षीय राजेश राना, २४ वर्षीय दिवाकर भुल र ३० वर्षीय जयराम राना रहेका छन्। उनीहरूको साथबाट २ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, एक थान इलेक्ट्रोनिक काटा तथा १ लाख ५२ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














